जनकपुरधाम- मधेस सरकारले घोषणा गरेको “जनयुद्ध दिवस” को अवसरमा मधेस प्रदेशमा माओवादी सशस्त्र विद्रोह र मधेस आन्दोलनको क्रममा मारिएका ५ सय ४० व्यक्तिहरूको परिवारलाई जनही १-१ लाख रुपैयाँ तथा दोसल्ला ओढाएर सम्मान गरेकोछ ।
सोमबार मधेसी सहिद प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले सहिद परिवारलाई सम्मान गरेका हुन् ।
माओवादी सशस्त्र विद्रोहको क्रममा माओवादीको तर्फबाट मधेसमा पहिलो सहिद बनेका धनुषा बरमझियाका मास्टर साब भनेर चिनिने रामवृक्ष यादवकी छोरी सुधा यादवलाई उपराष्ट्रपति पुनले दोसल्ला ओढाएर सम्मान गर्नुका साथै एक लाख राशिको चेक हस्तान्तरण गरेका थिए ।
बाँकी सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिए पनि १ लाख राशिको चेक भने उनीहरुको बैंक खातामा पठाइने प्रतिष्ठानका प्रमुख एवं मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री शत्रुघ्न प्रसाद सिंहले जानकारी दिए।
लालबाबु राउत नेतृत्व कै सरकारमा माओवादी सहभागी भएपछि मधेस प्रदेश सरकारले माओवादी सशस्त्र विद्रोहको क्रममा मारिएका व्यक्तिहरूको सम्मानमा पनि राहत घोषणा गरेको थियो ।
जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनता पार्टी (राजपा)को गठबन्धनको सरकार हुँदा मधेसमा मधेस आन्दोलनका सहिदको सम्मानमा माघ ५ गते “बलिदानी दिवस” मा सार्वजनिक बिदा र सहिद परिवारलाई राहत बाँड्न सुरु गरेको थियो ।
माओवादी पनि राउत सरकारमा सहभागी भएपछि प्रदेश सरकारले मधेसी सहिद प्रतिष्ठान नै बनाएर मधेस आन्दोलन र जनयुद्धका सहिदलाई राहत रकम दिइरहेको छ ।