सर्लाही- सर्लाहीको हरिवन नगरपालिकाका युवाहरुको एक समूहले फोहोरजन्य पदार्थ व्यवस्थापन गर्न मेयरलाई ध्यानाकर्षण गराएका छन् ।
कायापलट समूह नामक संस्थामा आवद्ध युवाहरुको समूहले हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीलाई फोहोरजन्य पदार्थलाई व्यवस्थित गरी नगरलाई फोहोर रहित बनाउन निवेदन दिएका हुन् ।



नगरपालिकालाई हरियाली नगरपालिका निमार्ण गर्न तथा सुन्दर, सफा र स्वच्छ वातावरण निमार्ण गर्न तथा जलवायु परिवर्तनको जोखिमलाई न्युनीकरण गर्नेतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले नगरपालिकाभित्र प्लास्टिक झोला विक्रि वितरण गर्नमा रोक लगाउन, हरित नगरपालिकाको लागि वृक्षरोपण कार्यक्रम गर्न, ‘हर घर एक रुख’ अभियानलाई नगरपालिकाको नीति कार्यक्रममा समावेश गर्न पनि माग गरेका छन् ।
हरिवन नगरपालिकामा परिवर्तनप्रति सजग युवाहरुको सञ्जाल कायापलट सर्लाहीको तर्फबाट विभिन्न क्रियाकलाप अन्तर्गत प्लास्टिक म्यान क्याम्पेन तथा जलवायु संचेतना अभियान र प्लास्टिक मुक्त विद्यालय बनाउन विभिन्न साझेदार संघ संस्थाको सहयोगमा निरन्तर क्रियाकलाप गर्दै आईरहेको बताइएको छ ।




