
जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १५ दिने मिथिला माध्यमिकी परिक्रमामा सहभागी यात्रुहरुका लागि हरसम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

सोमबार धनुषाको मिथिला बिहारी नगरपालिकाले आयोजना गरेको परिक्रमा शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले यस वृहत् धार्मिक पदयात्रालाई व्यवस्थित गर्न स्थानीय सरकारसँग समन्वय गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् ।
यस कार्यमा सहजीकरणका लागि संघीय सरकारसँग आग्रह गर्दै मुख्यमन्त्री यादवले तीनै तहको सरकारले परिक्रमामा सहभागी हुने यात्रीहरुको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
वृहत् परिक्रमा विकास समिति गठनका लागि संघ सरकारसँग आफूले पहल गर्ने बताउँदै उनले मिथिला बिहारी मठलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रतिबद्धतासमेत जनाए ।
जनकपुरधाम आउने धार्मिक पर्यटकहरू मिथिला बिहारी मठमा दर्शन पूजा गर्दै धनुषाधाम जाने वातावरण बनाउनेतर्फ पहल गर्न जरुरी रहेको उनको भनाइ थियो ।

मिथिला बिहारी नगरपालिकाका नगर प्रमुख राजेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको परिक्रमा शुभारम्भ कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव, प्रतिनिधिसभा सदस्य प्रतीक्षा तिवारी, प्रदेशसभा सदस्यद्वय शेषनारायण यादव, कुमरकान्त झा, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह लगायतको उपस्थिति रहेको थियो ।