काठमाडौँ- नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन सुनिश्चितताका लागि गठन हुने संघीय समन्वय समितिको प्रतिनिधि सदस्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमलाई मनोनयन गरेको छ ।
मन्त्रिपरिषद्को २०८३ भदौ २६ गतेको बैठकले गौतमलाई समितिको प्रतिनिधि सदस्य तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको २०८३ भदौ २९ गतेको पत्रमा उल्लेख छ ।



पत्रमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आर्थिक वर्ष २०८०/०८१–२०८५/०८६) मा उल्लिखित क्रियाकलापको कार्यान्वयन सुनिश्चितताका लागि कार्ययोजनाको दफा ४.२.१ बमोजिम गौतमलाई सङ्घीय समन्वय समितिको प्रतिनिधि सदस्य तोकिएको उल्लेख छ ।
मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना मानव अधिकारको संरक्षण, प्रवर्धन तथा कार्यान्वयनका लागि नेपाल सरकारले तयार गरेको राष्ट्रिय दस्तावेज हो। कार्ययोजनामा मानव अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन, राज्यका विभिन्न तह र निकायबीच समन्वय तथा मानव अधिकारको अवस्था अनुगमनलगायतका विषय समेटिएका छन् । सङ्घीय समन्वय समितिले कार्ययोजनामा उल्लेखित क्रियाकलापको कार्यान्वयनमा समन्वय तथा अनुगमन गर्नेछ । समितिमा नागरिक समाजको प्रतिनिधिका रूपमा इन्सेक अध्यक्ष गौतमको सहभागिता रहने भएको हो ।





