बटेश्वर,धनुषा- बटेश्वर युवा सञ्जालको आयोजनामा बटेश्वर गाउँपालिकामा आधारभूत शेयर बजार तालिम सम्पन्न भएको छ। बटेश्वरमा पहिलो पटक आयोजना गरिएको तालिममा ४५ जना सहभागी भएका थिए।
तालिममा शेयर बजारका आधारभूत अवधारणा, शेयर किनबेच प्रक्रिया, लगानीका अवसर तथा जोखिम र जिम्मेवार लगानीलगायत विषयमा जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई शेयर बजार बुझेर सुरक्षित तथा जिम्मेवार रूपमा लगानी गर्ने आधारभूत ज्ञान प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।



तालिमको सहजीकरण दिपशिखा स्टक ब्रोकर नं. ३८, लहान शाखाका शाखा प्रबन्धक शिवानन्द चौधरीले गर्नुभएको थियो। उहाँले तालिममा सहभागीहरूको उत्साह र सहभागिता राम्रो रहेको बताउनुभयो।
बटेश्वरका बासिन्दालाई आर्थिक तथा वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यले कमाउने, बचाउने र बचतसँगै लगानी गर्ने संस्कार विकास गर्न तालिम आयोजना गरिएको आयोजक बटेश्वर युवा सञ्जालका प्रतिनिधि सरोज कुमार महतोले बताउनुभयो।
“कमाऔँ, बचाऔँ र बचतसँगै लगानी गर्न पनि सिकौँ” भन्ने सन्देशसहित तालिम सम्पन्न भएको हो।





