जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गहना चोरी भएको छ । मन्दिरबाट राजदेवी माताको मूर्ति, थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान चोरिएको हो ।
शनिबार मध्यरातमा मन्दिरपछाडिबाट पसेका चोरहरूले मूर्तिलगायतका समान चोरेर लगेको पुजारी धिरज यादवले जानकारी दिए । हतियारसहित आएका चोरहरूले मन्दिरमा जडित सीसीटीभी क्यामेराको तारसमेत काटेका छन् । मन्दिरबाट चोरी गरिरहेको भिडिओ भने क्यामेरामा कैद भएको छ ।
भिडिओमा चोरहरूले अनुहार छोपेको देखिन्छ । पूजारी यादवका अनुसार मूर्तिसहितका सबै समान करिब साढे तीन किलो चाँदीको थियो । मन्दिर र सीसीटीभी पनि तोडफोडका कारण क्षति बढेको छ ।
यस मन्दिरबाट यसअघि चार पटक मूर्ति चोरी भइसकेपनि प्रहरीले अहिलेसम्म एकजनालाई पक्राउ गर्न सकेको छैन । पुजारी यादवले प्रहरीको कमचोरीकै कारण पटकपटक चोरी भएको आरोप लगाए ।