काठमाडौं- नेकपा एमालेका मन्त्रीहरुले सामूहिक रुपमा राजीनामा बुझाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उपप्रधानमन्त्री विष्णु पौडेल लगायतले राजीनामा बुझाएका हुन् ।
त्यसअघि आज विहान बसेको एमालेको सचिवालय बैठकले सरकार छाड्ने र प्रधानमन्त्रीलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।
प्रचण्ड सरकारमा एमालेबाट ८ जना मन्त्री बनेका थिए । राजीनामा बुझाउन भने सातजना मन्त्री बालुवाटार पुगेका थिए । सबैका तर्फबाट उपप्रधानमन्त्री पौडेलले प्रधानमन्त्रीलाई राजीनामा हस्तान्तरण गरेका थिए ।