जनकपुरधाम – धनुषा प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका बलात्कारका आरोपित ३ दिनपछि पक्राउ परेका छन् ।
गत आइतबार साँझ करिब ७ बजेको समयमा धनुषाको शहिदनगर नगरपालिका ३ स्थित यदुकुहा र सशस्त्र क्याप्पको बिचको नहरमा हाम फालेर फरार भएका सबैला नगरपालिका १३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



गए राति करिब सावा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले मुखियालाई जनकनन्दनी गाउँपालिका १ ईनर्वा स्थित भारतीय सीमा नजिक भारततर्फ जानको लागि लुकी छुपी बसेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।
यस्तै, फागुन ५ गते जवरजस्ती करणीको आरोपमा पक्राउ परेका मुखियालाई दोस्रो पटक म्याद थप गरि लैजादैँ गरेको अवस्थामा थुनुवा गाडीमा सुरक्षार्थ खटिएको ६ जना प्रहरी कर्मचारीहरूमाथि प्रहरी नियमावली अनुसार आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाईएको उनले बताए ।




