
जनकपुरधाम- मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले बाल यौन दुराचारहरु रोक्नका लागि प्रदेश सरकारले ठोस कानुन र प्रशासन निती ल्याउन आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाममा जानकी महिला जागरण समाज ज्वासले आयोजना गरेको बाल यौन दुराचार विरुद्वमा अन्तरपुस्ता प्रदेश स्तरीय पैरवी सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मिश्रले बालबालिका, छोरीचेलीहरु सुरक्षाको जिम्मा प्रहरी र प्रशासन भन्दा परिवार र समाजले पहिलो जिम्मेवारी बुझनु पर्ने बताएका छन् ।

अधिकांश बाल चौन दुराचारका घटनाहरुमा छिमेकी र परिवारजनकै हात देखिएकाले सर्तक रहनु पर्ने र घरमै बालबालिकालाई यौन दुर्ववहार तथा सुरक्षा सम्बन्धि शिक्षा दिनु आवश्यक रहेको वक्ताहरुले बताए । जसपाका प्रदेश सांसद रामअशिष यादवले संस्कार बिनाको शिक्षा अधुरा हुने भन्दै संस्कार भए शिक्षा आफै गति लिने भएको हुँदा परिवारमा बच्चालाई संस्कार पहिलो शिक्षा रहेको बताए ।
मधेश सरकार निति आयोगका पुर्व उपाध्यक्ष डा. भोगेन्द्र झाले बच्चाहरु संग हुने यौन दुराचारका घटना समाजमै लुकाउने, राजनितिको बलमा दबाउने जस्ता प्रवृती रहेकाले यस्मा राजनिती र नेता सुध्रन आवयश्क रहेको बताए । ज्वासले यसलाई पालिका पालिकामा शिक्षा र अभियानको रुपमा बढाउनु पर्ने बताए ।
ज्वासकी अध्यक्ष मन्दाकनी कर्णको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु मिश्र गायत्री, मधेश अध्यक्ष राजेश कर्ण सहित प्रहरी प्रशासन र मधेश सरकारका प्रतिनिधीले आ आफनो धारणा राखेका थिए ।