महोत्तरी- दलितको भोज खाएको भन्दै महोत्तरीको एक परिवार सामाजिक बहिष्कारमा परेको छ ।
सोनमा गाउँपालिका ४ खेसराहाका भिखारी महतोको परिवारलाई समाजले बहिष्कार गरेको हो ।
गत पुस १९ गते महतोले गाउँकै शुभनारायण राम (चमार)को घरमा भोज खाएपछि उनि सामाजिक बहिष्कारमा परेका हुन् ।
तेस्रो सन्तानको रुपमा छोरा पाएको खुसीमा आयोजित ६ दिनमा हुने छठिहार न्वारणको दिन शुभनारायणले साधुसन्तको भोज (भण्डारा) गरेका थिए । सोही भोजमा महतो पनि सरिक भएपछि उनी महतो (कोइरी) समुदायको बहिष्करणमा परेका हुन् ।
‘उनीहरुले मलाई जातबाट निकालिदिएको र भातपानी बारेको भनेका छन्’ महतोले सुनाए, ‘सार्वजनिक रुपमा माफी नमागेसम्म जातमा समावेश नगर्ने अडान उनीहरुले लिएका छन् ।’
स्थानीय रामचन्द्र महतो, शंकर महतो, सितो महतो, जवाहर महतो, रामसृष्ठ महतो, दुखा महतो लगायतले चमारको भोज खाएको निहुँमा पञ्चायतमा दुर्व्यवहार समेत गरेको भिखारी महतोले गुनासो गरे ।
शुभनारायणको घरमा भोज खाएयता भिखारीलाई गाउँघरमा हुने कोइरी, यादव समुदायको कुनै पनि भोजमा सरिक हुन दिइएको छैन ।
घटना पश्चात महतोले दोषीहरुमाथि कारबाही र न्याय माग्दै इलाका प्रहरी कार्यालय गौशालामा माघ ५ गते उजुरी दिएका छन् । तर उजुरीमाथि प्रहरीले खासै चासो नदिएको उनको आरोप छ ।
शुभनारायणले पनि भिखारीलाई आफ्नो घरमा भोज खाएको निहुँमा अछूत भन्दै भातपानी बारेको जानकारी दिए ।
दलित भए पनि शुभनारायणको परिवार पनि वैष्णव हुन् । घरमा कोही माछामासु खाँदैनन् । धार्मिक सत्संग, प्रवचनमा सरिक हुन्छन् । महतोले आफूले कहिल्यै पनि तल्लो-माथिल्लो जातको भनेर भेदभाव नगरेको बताए।
‘म जातीय छुवाछूत मान्दिनँ । दलितको भोज खाएकै निहुँमा मलाई सार्वजनिक माफी माग्न कर गरिरहेका छन्’ उहाँले भन्नुभयो, ‘मैले के अपराध गरेको छु र माफी माग्नु ! माफी माग्दिनँ भन्ने अडान मैले लिएको छु । त्यसैले मलाई बहिष्कार गरेका छन् ।’
इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (सई) भुवनसिंह कार्कीले भिखारीको उजुरी आएको र आरोपीहरुलाई बोलाएर सोधपुछ गर्ने कार्य भएको बताए । विदामा रहेका प्रहरी निरीक्षक रञ्जन मिश्र कार्यालय आएपछि यो घटनाको विषयमा थप कारबाही अघि बढाइने कार्कीको भनाइ छ ।
सोनमा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मिठु रायले पनि दलित कै घरमा भोज खाएको निहुँमा भिखारी महतोलाई बहिष्कार गरेको घटना सत्य भएको बताए । आफूले पनि कोइरीको माइजन देवानसँग कुरा गरेर यसो नगर्न आग्रह गरेको वडा अध्यक्ष रायले जनाए ।
‘घटना सही हो । मैले कोइरी जातका माइजन देवानलाई भेटेर आग्रह गरें। दलितकै घरमा भोज खाएको निहुँमा भिखारीको भातपानी यसरी नबार्नुस् । खान दिनुस् । तर जातीय माइजन देवान उनलाई नखुवाउने अडानमा छन्’, वडाध्यक्ष रायले बताए।
नेपालमा जातीय भेदभाव दण्डनीय छ । यदि कसैले गरे तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुईलाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।