ज्यानसम्बन्धी मुद्दामा फरार रहेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीका ८० वर्षीय ठकाइ यादव पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार ४३ वर्षदेखि फरार रहेका यादवलाई साधुको भेषमा खरुक्याहीस्थित शिव मन्दिरमा बसिरहेको अवस्थामा बिहीबार इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीबाट प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो।



पक्राउ परेका यादवलाई जिल्ला अदालतमा उपस्थित गराइसकिएको प्रहरीले जनाएको छ।
प्रहरी अभिलेखअनुसार २०४१ साल वैशाख १ गते स्थानीय मन्दिरमा बोका चढाउने विषयमा भएको विवादका क्रममा साविक खरुक्याही गाउँ विकास समिति–४ का राजेन्द्र यादवमाथि समूहगत कुटपिट भएको थियो। उक्त घटनामा गम्भीर घाइते भएका राजेन्द्र यादवको मृत्यु भएको थियो। हत्याको योजना बनाउनमा ठकाइ यादवको संलग्नता रहेको प्रहरीको भनाइ छ।
जिल्ला अदालतले २०४६ साल पुस २५ गते ठकाइ यादवलाई दोषी ठहर गर्दै एक वर्ष कैद सजाय सुनाएको थियो। त्यसयता उनी फरार रहँदै साधुको भेषमा विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए।
अदालतबाट सजाय तोकिएका फरार अभियुक्तहरूको खोजी गर्ने क्रममा यादवलाई पक्राउ गरिएको सूचना अधिकारी पालले जानकारी दिनुभयो।





