जनकपुरधाम- मिथिला माध्यमिकी परिक्रमा शनिबार भारतको करुणा विश्राम गरी आइतबार विहान भारतको विशौल आइपुगेको छ ।
विहानै (आज) परिक्रमाका श्रद्धालुहरु १४ औं विश्रामस्थल विशौल आइपुगेका छन् । सोमबार परिक्रमा यात्रुहरु जनकपुरधाम आइपुग्ने छन् । मंगलबार जनकपुरधाममा अन्तरगृह गरेपछि परिक्रमा यात्रा पूरा हुनेछन् ।
शनिबारदेखि नै २४ घण्टे परिक्रमा घुम्नेहरु सुरु गरेका थिए । २४ घण्टे परिक्रमाका यात्रीहर सामेबार जनकपुरधाममा १५ दिवसीय परिक्रमाका यात्रीहरुसँगै अन्तरगृह परिक्रमा गर्ने छन् । यही फागुन ८ जनकपुरधामको हनुमानगढीस्थित जम्मा भएर परिक्रमा यात्रा सुरु भएको थियो ।
हनुमानगढीबाट सुरु भइ परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा हुँदै विशौल पुगेको छ । करुणामा रात्रि विश्राम गरेको परिक्रमा (आज) आइतबार विशौलमा रात्रि विश्राम गर्नेछ । त्यसपछि परिक्रमा विशौलबाट जनकपुरधाम आइपुग्ने छन् । जनकपुरधाम पुगेर जनकपुरधामको अन्तर गृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने छन् । माध्यमिकी परिक्रमा भाग लिन नसकेको श्रद्धालुहरु अन्तगृहीमा परिक्रमामा सहभागी भए मोक्षको भागी बन्ने जनविश्वास छ ।
नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् । यस यात्राका सहयात्रीले नेपालका १ सय २ एवम् भारतको २६ गरी १ सय २८ किलोमिटर पैदलयात्रा गर्नुपर्ने हुन्छ ।
एक सय २८ किलो मिटरमा १५ वटा विश्रामस्थल रहेका छन् । यी सबै ठाउँहरुमा विशेष देवताका थानहरु छन् । सो विश्रामस्थलमा परिक्रमा यात्रीहरुलाई स्थानीयवासीहरु अत्यन्त उत्साह, श्रद्धा अनि आतिथ्यका साथ राख्दछन् । पछिल्लो समय स्थानीय सरकारले पनि व्यवस्थापनमा ध्यान दिने गरेका छन् । ठाउँ ठाउँमा स्वास्थ्य शिविर, भण्डारालगायत सामानको व्यवस्था पनि गर्दछन् ।
परिक्रमाको अन्त्यको दिन जनकपुरधाममा लगभग ८ कि.मी शहर वरिपरि परिक्रमा गरिने चलन रहेको जन विश्वास छ । त्यसपछि परिक्रमाका यात्रीहरु घर फर्किने गरिन्छ । मधेशमा यस पटक बुधबार होली मनाइने छन् । तर मधेश बाहेक अन्य ठाउँमा सोमबार नै होली हुने क्यालेण्डरमा छ ।