
जनकपुरधाम- नेकपा एमालेका सचिव रघुवीर महासेठले चैत ३ गतेपश्चात् देशको राजनीतिक कोर्स परिवर्तन हुने दाबी गरेका छन् ।
आइतबार नेकपा एमाले क्षीरेश्वरनाथ नगर कमिटीले आयोजना गरेको होलीको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पछि देशको राजनीतिक कोर्स कुन दिशामा जान्छ त्यो भन्न मुस्किल छ ।’
‘पुस १० गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तपाईं सरकार बनाउनुस् हामी समर्थन दिन्छौं भनेका थिए, उनले भने,‘ तर, हाम्रो अध्यक्ष जीले हामीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन दिइसकेका छौं । उनलाई धोका दिन सक्दैनौं भनेका थिए । तर, प्रचण्डले भने केही दिनमै हामीलाई धोका दिए ।’
माओवादी अध्यक्ष प्रचण्ड छेपारो जस्तै रंग परिवर्तन गरी पूरानै गठबन्धनसँग हात मिलाएर नेकपा एमालेललाई धोका दिएको महासेठको आरोप छ ।
उनले भने, ‘प्रचण्डले एमालेलाई नभई आफैंलाई धोका दिएका छन् । तपाईं हेर्नुहोला २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन पश्चात देशको राजनीति कुन दिशामा जान्छ ।’
अध्यक्ष प्रचण्डको कुनैपनि कुरामा स्थिरता नरहेको आरोप लगाउँदै महासेठले प्रचण्डले नै एमाले र कांग्रेसको बिचमा लडाईं गराएर आफू शासन गर्न खोजेको र धेरै पटक सफल पनि भएको बताए । अब कांग्रेस र एमाले दुबैले उनको खेल बुझिसकेको उनको भनाइ थियो ।
‘प्रचण्डले चाहे भने भोलिदेखि होली पनि बन्द गराउन सक्छन् । फागुन १ गते जनयुद्धको उपलक्ष्यमा पनि उनी होली गराउन सक्छन् । उनको मोनोपोली छ, उनले भने, ‘त्यसैले सबै एकजुट भएर चार वर्ष पक्ष विपक्षमा नलागौं । हामी सबै विकास निर्माणमा जुटौं ।’
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतोले मुलुक अहिले देशी विदेशी शक्तिको घेराबन्दीमा परेको आशंका व्यक्त गरिन् । उनले यस घेराबन्दीलाई तोड्नका लागि नेकपा एमालेको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने आवश्यकता रहेकोसमेत बताइन् ।
उनले भनिन्, ‘विदेशी शक्तिहरुले देशलाई कब्जा गर्न खोजिरहेका छन् । विकास निर्माणमा सरकारको पनि चासो छैन । युवाहरु वेरोजगारीको समस्या झेलिरहेका छन् । उद्योगी व्यवसायीहरु धरापमा परेका छन् । बैंकले पैसा दिन मानिरहेका छैनन् । ब्याजको समस्या छ । किसानले मल पाइरहेका छैनन् । सिचाईंको समस्या छ । त्यसैले अब भने सबैले खबरदारी गर्नुपर्ने आवश्यकता छ ।’
उनले वर्तमान सरकार गलत साँठगाँठ गरेर राज्यसत्ता सञ्चालन गर्न चाहिरहेको आरोपसमेत लगाइन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य हरिनारायण महतो, क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, नेकपा एमाले जनकपुरधामका नगर अध्यक्ष सुरेन्द्र भण्डारी सहितका नेता कार्यक्रताहरुको उपस्थिती थियो ।