धनुषा- धनुषामा भएको छुट्टाछुट्टै भएको सडक दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुर बस्ने ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडकमा मागी खाने पुरुष रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार सोमबार राति करिब ११ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-१० लालगढमा बर्दिबासतर्फबाट आउँदै गरेको प्रदेश २-००२-०३ प ७७४३ नम्बरको मोटरसाइकल सडकमा मागी खाने पुरुषसंग ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका अपरिचित पुरुषको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो भने मोटरसाइकल चालक महतोको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा मंगलबार ढल्केबर नपुग्दै बाटो मै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका वरिष्ठ सइ ईश्वर विक्रम साहले जानकारी दिनुभयो ।
दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी मंगलवार जनकपुरधाममा मोटरसाइकलको ठक्करबाट एकजना परिक्रमा यात्रीको मृत्यु भएको छ ।
मृत्युु हुनेमा सिरहाको कर्जन्हा नगरपालिका-७ प्रेमनगर बस्ने ६५ वर्षीया ईश्वर देवी राय रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार जनकपुरधाम-ढल्केबर सडकखण्ड अन्तर्गत मुजेलियामा बाटो क्रस गरिरहेकी पैदल यात्री महिलालाई ज ६ प २२१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । र उनको उपचारको क्रममा प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
मृतक रायको शव पोस्टमार्टमपश्चात् परिवारजनको जिम्मा लगाइएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




