
जनकपुरधाम- नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको १२औं संस्करण धनुषाको मिथिला बिहारी नगरपालिकामा सुरु भएको छ ।

आयोजक मूल समितिका संयोजक देवनारायण मण्डलकाअनुसार उत्सवको दिन चरा तथा प्रकृति अवलोकन, स्थानीय लोपोन्मुख खेलहरू तथा सांस्कृतिक गीत तथा नाच प्रदर्शन गर्नुका साथै वनविज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरूको लाटोकोसेरो संरक्षणसम्बन्धी नाच र नाटक प्रदर्शन गरिएको छ ।

शुक्रवार देखि सुरु भएको महोत्सव आज शनिवार सम्पन्न हुँदैछ। यस उत्सवमा लाटोकोसेरोसम्बन्धी जानकारी तथा फोटो प्रदर्शनीका साथै आठ किसिमका लाटोकोसेरोको आवाज सुन्ने र भिडिओ हेर्नेसमेत व्यवस्था गरिएको छ ।
कार्यक्रममा एक फिट अग्लो लाटोकोसेरोको रोबोटसमेत प्रदर्शनमा राखिएको छ।

सन् २०१२ देखि नेपालमा मनाउन थालिएको यो उत्सव, यो वर्ष ‘मिथिला वाइल्ड लाइफ ट्रस्ट’ र ‘प्रकृतिका साथीहरू’को आयोजनामा धनुषा जिल्लामा मनाइएको हो ।

मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषा र प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा चन्देश्वर आधारभूत विद्यालय नजिक उत्सव आयोजना गरिएको छ। ‘प्रकृतिका साथीहरू’ का कार्यकारी निर्देशक राजु आचार्यका अनुसार यो उत्सवले ठूला स्तनधारी वन्यजन्तुकै हाराहारीमा सिकार तथा अवैध व्यापार हुन थालेको लाटोकोसेरो र हुचिलको संरक्षणमा टेवा पुग्ने छ ।

प्रकृति संरक्षणमा लाटोकोसेरोको भुमिकाबारे जनचेतना फैलाउने उद्देश्यले दुई दिने उत्सवको आयोजना गरिएको आयोजक मूल समितिका संयोजक देवनारायण मण्डलले बताए। उनले यो उत्सवले पर्यावरण संरक्षणमा ठूलो योगदान पुर्याउने बताउँदै यसले बालबालिकामा प्रकृतिप्रति माया र संरक्षणको भावना बढाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा मिथिलाको सांस्कृतिक झल्को दिने नाचगान, स्थानीय लोपोन्मुख खेलकुद प्रदर्शनी, रैथाने परिकार, स्थानीय उत्पादनहरू प्रदर्शनी तथा बिक्रीवितरण र हस्तकलाका सामग्री प्रदर्शन गरिएको छ।

प्रकृतिका साथीका निर्देशक राजु आचार्यले लाटोकोसेरो किसानका सच्चा साथी भएको बताए । उनका अनुसार एउटा लाटोकोसेरोले एक मौसममा झण्डै तीन हजार मुसा खाएर किसानलाई सहयोग पुर्याउँछ । लाटोकोसेरोले किरा फट्याङ्ग्रा, सर्प र भ्यागुता नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका खेल्छ।

उनले भने, “नेपालमा हाल २३ प्रजातिका लाटोकोसेरो पाइन्छन् जसमा आठ प्रजाति दुर्लभ मानिन्छन् । दुई प्रजाति लोप भइसकेको अनुमान छ । नेपालबाट वार्षिक दुई हजारभन्दा बढी लाटोकोसेरोको अवैध तस्करी हुने गरेको छ जुन पर्यावरणीय सन्तुलनका लागि गम्भीर खतरा हो ।”

उत्सवको आयोजना यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, र खोटाङमा सफलतापूर्वक सम्पन्न भइसकेको छ । यसपटकको उत्सवले पूर्वी नेपालमा लाटोकोसेरो संरक्षण र यसको महत्वबारे गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ । उत्सवको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, संरक्षणकर्मी, विद्यार्थी, र पर्यावरणप्रेमीको उल्लेख्य सहभागिता रहेको छ ।


