काठमाडौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित गर्न अहिले १० बजेदेखि निर्वाचन कार्यालय नयाँ बानेश्वरमा मतदान शुरु भएको छ। मतदान दिउसो ३ बजेसम्म हुनेछ।
निर्वाचन आयोगका अनुसार दिउसो ४ बजेदेखि मतगणना शुरु हुने र बेलुकी ७ बजे मुलुकले नयाँ राष्ट्रपति पाउने निश्चित भएको छ। राष्ट्रपति पदका लागि पूर्व सभामुखद्धय नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।



पौडेललाई कांग्रेस सहित नौ दलको समर्थन छ। नेम्वाङ एक्लै छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा कसैलाई पनि मत नदिने निर्णय गरिसकेको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य ४ सानादलको मत कसलाई जाने टुङ्गो छैन। पौडेल र नेम्वाङ मध्ये एकलाई राष्ट्रपति चुन्न संसद् भवनको ल्होत्से हलमा सघीय र प्रदेश सांसद लाइनमा छन्।
प्रतिनिधि सभा सदस्य २ सय ७५ मध्य २७० ले मात्रै मत दिने देखिन्छ । चितवन २ बाट निर्वाचित रवि लामिछानेको पद खारेज,महोत्तरी १ बाट निर्वाचित लक्ष्मी महतो कोईरी फरार,मनाङबाट निर्वाचित टेकबहादुर गुरुङ निलम्बन,जसपा सांसदको मृत्यु र सांसद चन्द्र भण्डारी मुम्बईमा उपचाररत भएका कारण उनीहरूको मतदान हुनेछैन।
राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० ले पनि मत दिनेछन्। राष्ट्रपति चुनावमा प्रतिनिधि तथा राष्ट्रिय सभा सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ तय गरिएको छ। संघीय संसदका सदस्यहरूको मतभार २६ हजार ३८६ र प्रदेश सभा सदस्यहरूको २६ हजार ४४० गरी जम्मा मतभार ५२ हजार ७८६ छ। राष्ट्रपतिको चुनाव जित्न कम्तीमा ५० प्रतिशत मतभार ल्याउनै पर्छ।
कांग्रेसको कुल मतभार १६ हजार २२१ छ। एमालेको मतभार १५ हजार १५४ छ। सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग ७ हजार ६ सय ९७ मतभार छ। यसैगरी एकीकृत समाजवादीको २ हजार ५७४, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५८०, जसपाको २ हजार १४५, राप्रपाको २ हजार ४५० र जनमत पार्टीको १ हजार २४४ मतभार छ। त्यस्तै, स्वतन्त्र सांसदको १ हजार २, लोसपाको ९७१, नागरिक उन्मुक्ति पार्टीको ८१३, राष्ट्रिय जनमोर्चाको २०६ र नेमकिपाको २२३ मतभार छ।




