जनकपुर — नेपाली कांग्रेसका सभापति गगन थापा को १८ वर्ष लामो संसदीय यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंह ले ब्रेक लगाएका छन्।
आइतबार बिहान सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर–४ को अन्तिम मतपरिणाम अनुसार सिंहले थापालाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्।निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा थापाले २२ हजार ८३१ मत प्राप्त गरे।थापा २०६४ सालदेखि संसदीय यात्रामा सक्रिय थिए। पहिलोपटक समानुपातिक प्रणालीबाट निर्वाचित भएका उनी पछिल्ला तीन पटक काठमाडौं–४ बाट निर्वाचित भएका थिए।



गत पुसमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनबाट थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए। कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो।थापाले २०५१ सालमा त्रिचन्द्र क्याम्पस मा स्वतन्त्र विद्यार्थी युनियनको सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका थिए।
२०५५ सालमा सोही क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका उनी २०५७ सालमा नेपाल विद्यार्थी संघ को उपाध्यक्ष र २०५९ सालमा महामन्त्री बनेका थिए।गणतन्त्रको पक्षमा खुलेर वकालत गरेका थापा २०६२–०६३ को जनआन्दोलनका क्रममा सक्रिय भूमिका खेलेपछि राष्ट्रिय राजनीतिमा चर्चित बनेका थिए।यता सिंहको जन्म सन् १९७० सेप्टेम्बर ५ मा सर्लाहीको बलरा क्षेत्रमा भएको हो।
उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालय बाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्।मधेशकेन्द्रित आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका सिंहले सुरुमा मधेशी जनअधिकार फोरममार्फत राजनीति गरेका थिए।
पछि नेपाली कांग्रेस मा प्रवेश गरी सक्रिय राजनीति गरेका थिए।उनी २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सिंह पुनः निर्वाचित भएका थिए।
संसद्मा तीखो अभिव्यक्ति र असामान्य शैलीका कारण चर्चित रहेका सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी बाट उम्मेदवार बनेर विजयी भएका हुन्।




