जनकपुरधाम- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित इलाका प्रहरी कार्यालयको हिरासत फोडेर फरार ६ थुनुवा प्रकरणका थप एक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ७ बस्ने ३६ वर्षीय शंकर महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



उनलाई शनिबार राति पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।
माघ १२ गते महतोलाई हातहतियार खरखजाना मुद्दामा मिथिला नगरपालिका २ स्थित नक्टाझिजबाट पक्राउ गरिएको थियो । गत फागुन १५ गते राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये चारजनालाई एकसाता भित्रै प्रहरीले पक्राउ गरेको थियो ।
घटना पश्चात जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालयले संयुक्त प्रहरी टोली परिचालन गरी व्यापक सर्च अपरेसन चलाएर ४ जना एक साता भित्र नै पक्राउ गरेको थियो ।
खोजतलास गर्ने क्रममा घटना कै भोलिपल्ट पुस १६ गते हातहतियार तथा खरखजाना मुद्दाका मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो, फागुन १७ गते शान्तिसुरक्षा विरुद्धको मुद्दाका अभियुक्त क्षिरेश्वरनाथ नगरपालिका २ बस्ने २५ वर्षीय हरिदिप सिंह र २५ वर्षीय अमित मण्डललाई पक्राउ गरेको थियो । यसैगरी लागूऔषध मुद्दाका अभियुक्त १८ गते राति क्षिरेश्वरनाथ नगरपालिका ५ का ३९ वर्षीय विनोद कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । अब एक जना अझ फरार रहेको छ।




