
धनुषा- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
स्वास्थ्य प्रयोगशाला परीक्षणमा लापरबाही भइरहेको गुनासो आएपछि मुख्यमन्त्रीले आकस्मिक अस्पतालको अनुगमन गर्नुभएको हो ।
प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादव अनुपस्थित रहेको पाइएपछि उहाँले मातहतका कर्मचारीलाई स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर हुन कडा निर्देशन दिनुभयो ।
अस्पतालको स्वास्थ्य प्रयोगशालाबाट प्रयोगशालाको रिपोर्ट गलत आएको गुनासो सुनेपछि मुख्यमन्त्री यादवले यस्तो लापरबाही गर्ने माथि कडा कारवाही हुने चेतावनी पनि उपस्थित कर्मचारीलाई दिनुभयो ।
मुख्यमन्त्री यादवले अस्पतालको प्रयोगशाला, आकस्मिक उपचार कक्ष, विभिन्न वार्डको अनुगमन निरीक्षण गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिनुभयो ।