
महोत्तरी — महोत्तरीमा दिनदिनै वन क्षेत्रमा लाग्ने डढेलोले वननजिकका बस्ती र स्थानीय त्रासमा छन् । चर्को घाम र हावाहुरीमा लागेको डढेलो बस्तीसम्म पुग्न थालेको छ । जिल्लाको बर्दिबास र गौशाला नगरपालिकामा पर्ने सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजना क्षेत्रमा लाग्ने डढेलो बस्ती र गाउँमा पुगेपछि स्थानीयमा त्रास बढाएको हो ।
महोत्तरीको बर्दिबास–३ स्थित वनमा लागेको आगो निभाइँदै। तस्बिर : सुनिता बराल/कान्तिपुर
शनिबारदेखि बर्दिबास–३ स्थित नेवारडाँडा कामीडाँडा सामुदायिक वनमा लागेको आगो बस्तीमा पुगेपछि दुईवटा दमकलको सहायतामा नेपाली सेना, नेपाल प्रहरीको टोली र स्थानीयले नियन्त्रणमा लिए । आगो बस्तीमा पस्न लागेपछि दुईवटा दमकल, सुरक्षा निकाय र स्थानीयको लामो पहलपछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विजय यादवले बताए । समयमै आगो नियन्त्रणमा लिएपछि एउटा कुखुरा फार्म जले पनि अन्य क्षति हुन नपाएको उनको भनाइ छ ।
दुई सातादेखि वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिन प्रहरी टोली खटेकाले नगरभित्र अन्य धनजनको क्षति हुन नपाएको यादवले बताए । स्थानीयले खबर गरेपछि नगरपालिकासँग समन्वय गर्दै दमकल लिएर घटना स्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको उनले जानकारी दिए । उनका अनुसार डढेलो नियन्त्रण र अन्य आपराधिक घटना कम गराउन इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले स्थानीयलाई सम्झाउने कामसमेत गरिरहेको छ । पछिल्लो समय डढेलो बस्तीमा आउने चिन्ता बढेको बर्दिबास–३ का प्रेम कार्कीले बताए । वनमा गस्ती हुन छाडेपछि डढेलो लगाउने क्रम बढेको उनको भनाइ छ ।
स्थानीयले गस्ती हुन छाडेपछि काठको चोरी/तस्करी बढेको पनि बताएका छन् । महोत्तरीमा १६ हजार हेक्टर क्षेत्रफलमा वन छ । दिनदिनै अतिक्रमणको चपेटामा परिरहेको वन र वनमा हुने विनाशलाई रोक्न लागिपरेको वन कार्यालय महोत्तरीले जनाएको छ । डढेलो वनवरिपरिकै पशुपालक परिवारका गोठालाबाट हुने भएकाले वनमा आगो नलगाउन स्थानीय नै प्रतिबद्ध हुनुपर्ने सशस्त्र वन सुरक्षा कार्यालय बर्दिबास–४ माईस्थानका रेन्जर सन्तोष यादव बताउँछन् ।
लामो समयदेखि वर्षा नभएकाले वनमा लागेको आगो छिटोछिटो फैलिँदा नियन्त्रणमा निकै समस्या भइरहेको जिल्ला डिभिजन वन महोत्तरी प्रमुख सन्तोष झाले बताए । सरकारले डढेलो नियन्त्रणका लागि सचेतना फैलाउन आएको बजेटसमेत रोक्का गरेको उनले जानकारी दिए ।