धरान । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत कोशी प्रदेशस्तरीय पुरुष फुटबल छनोट प्रतियोगितामा झापा जिल्ला सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुनसरीको धरानस्थित एन्फा एकेडेमीमा शुक्रबार भएको पहिलो क्वार्टरफाइनल खेलमा झापाले सोलुखुम्बुलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।



झापाको जितमा पुजन थापा, आयुष राई र निखिल तामाङले गोल गरे । खेलको २७औँ मिनेटमा पुजनले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । त्यसपछि ३९औँ मिनेटमा आयुषले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ५१औँ मिनेटमा निखिलले तेस्रो गोल थपेपछि झापाले ३–० को सहज जित निकाल्यो ।
जितसँगै झापाले प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको छ । सोलुखुम्बु भने क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा आगामी मंसिर १६ गतेदेखि आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशको पुरुष फुटबल टोली छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
कोशी प्रदेश फुटबल संघको प्राविधिक सहयोगमा कार्तिक २८ गतेदेखि धरानस्थित एन्फा एकेडेमीमा सुरु भएको प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिता कार्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।
छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई राष्ट्रिय खेलकुदमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने टोलीमा समावेश गरिनेछ । प्रदेशको फुटबल टोलीलाई प्रतिस्पर्धात्मक बनाउन जिल्ला तहबाट खेलाडी छनोट गरी प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो ।




