जनकपुरधाम- धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले धर्ना स्थगित गरेका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा पुगेको टोलीले गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र आन्दोलनरत वडाध्यक्षहरूबीच आन्तरिक सहमति गराएपछि धर्ना स्थगित भएको हो ।
लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष दिलिप यादवले गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, प्रहरी उपरीक्षक विश्वराज खड्का र जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको रोहवरमा आफूहरूको ३ बुँदे माग सम्बोधन गर्ने सहमति जनाएपछि धर्ना स्थगित गरिएको जानकारी दिए ।
वडाध्यक्ष यादवले गाउँपालिकाका अध्यक्ष मिश्रले बिहीबार कार्यपालिका बैठक आह्वान गरेर प्रस्तावहरूमाथि गहन छलफल गर्ने सहमति भएकोसमेत जानकारी दिए ।
यसअघि गाउँपालिका अध्यक्ष मिश्र र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले पालिकामा करारका कर्मचारी नहटाई खुला प्रतिस्पर्धा नै नगरेर आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोप लगाउँदै वडाध्यक्षहरूले पालिकामा तालाबन्दीसमेत गरेका थिए ।
वडाध्यक्ष यादवले रोजगार सहायक, एमआईएस अपरेटरलगायतका पदका लागि दरखास्त आह्वान गरिए पनि नतिजा प्रकाशन गर्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आर्थिक चलखेल गरी नातावाद कृपावाद गरेको आरोप लगाएका थिए।
आफुखुशी नियुक्त गरेको करारका कर्मचारीहरूको नियुक्ति बदर गरी पुनः पारदर्शी गर्ने, गाउँपालिकाको आयव्यय अविलम्ब सार्वजनिक गर्ने र पालिकाको कार्यसञ्चालन व्यवस्थित गरिने सहमति भएसँगै आफूहरूको आन्दोलन स्थगित भएको वडाध्यक्ष यादवले बताए ।
नेकपा एमालेबाट निर्वाचित वडा नम्बर–१ का वडाध्यक्ष दिलिप यादव, वडा नम्बर–२ का वडाध्यक्ष लालजी साह, वडा नम्बर–५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर–६ का वडाध्यक्ष महाविर साह, वडा नम्बर–७ का वडाध्यक्ष गंगा साहलगायत ६ जना कार्यपालिका सदस्य र ८ जना वडा सदस्यहरूसहित १९ जना मंगलबारदेखि धर्नामा बसेका थिए ।