काठमाडौं- विश्वकप क्रिकेट लिग–२ मा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले यूएईमाथि डिएल मेथडबाट जित निकालेको हो।
खेलसँगै २ अंक जोडेको नेपाल तेस्रो स्थानमा उक्लिएको छ। ३९ अंक भएको नामिबिया चौथो स्थानमा झरेको छ।
यससँगै नेपाल जिम्बाब्वेमा हुने विश्वकप क्वालिफायरमा पुग्न सफल भएको छ ।
नेपालले ३११ रनको लक्ष्य पछ्याउँदै गर्दा ४४ ओभरमा खराब प्रकाशका कारण खेल रोकिएको थियो ।

त्यसबेला नेपालले ६ विकेट क्षतिमा २६९ रन बनाएको थियो । पछि खेल सम्भव नभएपछि नेपाल ९ रनले विजयी भएको हो ।
नेपालका लागि ४ खेलाडीले अर्धशतक बनाए । भीम सार्कीले ६७, आरिफ शेखले ५२, गुल्सन झाले अविजित ५० र कुशल भूर्तेलले पनि ५० रनको योगदान गरे ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पुरै ओभर खेलेर ६ विकेट क्षतिमा ३१० रन बनाएको थियो । यूएईका लागि असिफ खानले अविजित १०१ रन बनाए ।
यस्तै वृत्य अरविन्दले ९४ र मोहम्मद वसिमले ६३ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट लिए ।
नेपालले विश्वकप क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलंका, जिम्बाबे जस्ता टोलीसँग खेल्नेछ ।


