
जनकपुरधाम- नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य डा. संजिव यादव सहित दर्जनौं नेताकार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
धनुषाको लक्ष्मीनियामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका युवा नेता डा. यादव सहित नेताकार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनि सहित एमालेका दुई दर्जन बढी र जसपाका पनि केही नेता कार्यकर्तालाई काँग्रेसले पार्टीमा स्वागत गरेको छ ।
काँग्रेसबाट धनुषा क्षेत्र नं. ४ का उम्मेदवार समेत रहेका सहमहामन्त्री महेन्द्र यादव , काँग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियार र धनुषा ४ (क)का उम्मेदवार शेषनारायण यादवले नव प्रवेशीहरुलाई फूलमाला, अविर लगाएर स्वागत गरेका छन् ।

युवा नेता संजिव यादवले एमालेमा हैकमवादी र व्यक्तिवादी तानासाही हावी भएकाले आफू काँग्रेस प्रवेश गरेको बताए ।
उनले पार्टीमा खट्ने नेताकार्यकर्ताको कदर र मूल्यांकन नहुने गरेको, मधेशको नागरिकता समस्याप्रति एमाले बाधक बनेको लगायतको कारण एमालेप्रति वितृष्णा बढेकोले आफू देशको एक मात्र लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसमा प्रवेश गरेकाे बताए।
चुनावको मुखमा आएर यसरी एमाले र जसपा परित्याग गरि दर्जनाै नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्दा एमाले र जसपा गठबन्धनलाई ठूलो झटका लागेकाे छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा धनुषा ४ का उम्मेदवार यादवले देशको विकास र जनताको सुख समृद्धिका लागि काम गर्ने पार्टी नै नेपाली कांग्रेस भएकाले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न उनिहरुले लिएका निर्णय सही भएको बताए । उनले नव प्रवेशीहरुलाई पार्टी उचित र सम्मान जनक स्थान दिने बताए ।