
महोत्तरी- ‘उद्योग ब्यवसाय र कलाको विकाश गरौं, साहित्य संस्कृतिको संरक्षण गरौं’ भन्ने मुलनाराका साथ आज देखि बर्दिवास महोत्सवको चौथो संस्करण सुरु भएको छ ।

चैत १३ गते सम्म चल्ने यस महोत्सवको शुक्रबार नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय समितिका बरिष्ठ उपाअध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रवार उदघाटन गरे ।

महोत्सवको उदघाटन गर्दै उनले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न यो महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कोभिडका कारण बिश्वकै व्यापार व्यवसाय, पर्यटन प्रवद्र्धन, कृषि उत्पादन र वजारीकरण, उद्योग तथा कलकारखाना सबै क्षेत्र धारासायी बनेको वर्तमान अवस्थामा यस्ता महोत्सवले आर्थिक कारोवारमा टेवा पुग्ने उनले बिश्वास ब्यक्त गरे।

उनले यसबीच बढदो विप्प्रेषण, फस्टाउँदो पर्यटन उद्योग र बैंक तथा वित्तीय संस्थाको सुधारोन्मुख अवस्थितिले थला परेको अर्थतन्त्रमा आशाका किरण देखिएको धारणा व्यक्त गरे।

बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजना तथा बर्दिवास नगरपालिकाको संरक्षकत्वमा सुरु भएको यस महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आयोजक बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खड्काले बर्दिबासमा कृषि, शिक्षा र स्वास्थको प्रचुर सम्भावना रहे पनि राज्यको उपेक्षा र लगानीमैत्री वातावरण नहुँदा यहाँको ब्यापार ब्यवसाय धाराशायी भएको पीडा व्यक्त गरे ।

उनले महोत्सवले पर्यटकीय सम्भावनालाई समेत मूर्तरुप दिन महोत्सव फलदायी हुने बताए ।
महोत्सव परिसरमा १७० भन्दा बढी व्यापारिक स्टलहरु राखिएका छन् । स्टलहरुमा स्थानीय ब्यापारी, रैथाने सामग्री र कृषि उत्पादनलाई प्राथमिकतामा राखिएको छ ।

बर्दिबासको सामाजिक आर्थिक विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यजस्ता विषयमा महोत्सव केन्द्रित रहेको आयोजकले जनाएको छ ।

महोत्सवको उदघाटनअघि यस क्षेत्रमा वसोवास गर्ने थारु, दनुवार, मगर, तामाड., माझी, नेवार, भुजेल, मुस्लिम सहित ९ थरिका जातजातीले लोकसंस्कृतिमा आधारित झाकी सहित नगर परिक्रमा गरेका थिए ।
झाकीमा नौमती बाजा सहित सिन्धुली कलाघरका महिलाहरु द्वारा गरिएको सांस्कृतिक प्रस्तुतिले सबैको लागि आकर्षक बनेको थियो ।

महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० रुपियाँ र विद्यार्थीलाई ४० प्रतिशत छुट दिने ब्यवस्था गरिएको छ ।

चौथो संस्करण लाखबढीले अवलोकन गर्ने ५ करोडको कारोवार हुने आयोजकको आँकलन रहेको छ भने महोत्सव सम्पन्न गराउन ५५ लाख खर्च हुने र लाम्दानी ६० लाखको हाराहारीमा हुने अनुमान आयोजकको रहेको छ।