जनकपुरधाम- बिहीबार युनाइटेड अरब इमिरेट्स् (यूएई) संगको खेलमा राम्रो प्रदर्शन गरेका खेलाडी गुल्सन झाको गृह सहर मलंगवामा विजयको उत्सव देखिएको छ। अहिले मलंगवाको हरेक घरमा क्रिकेटर गुल्सनकै चर्चा छ।
सर्लाहीका अधिकांश खेलप्रेमी, खेलाडी, खेल प्रशिक्षक, समाजसेवी, राजनीतिज्ञ, शिक्षक, प्राध्यापक, बुद्धिजीवी तथा व्यावसायीहरुले सामाजिक समाजमा क्रिकेटर गुल्सनको सफलतालाई उत्सवको रुपमा प्रस्तुत गरेका छन्।
क्रिकेटर गुल्सनका बुबा अखिलेश झाले आफ्नो छोराले देशको शिर उच्च बनाउने काम गरेकोमा खुसी व्यक्त गर्दै देशको लागि अझै उसले धेरै गर्न बाँकी रहेको बताएका छन्। छोरा गुल्सनलाईछोरा विश्वकप खेलेको हेर्ने इच्छा रहेको उनी बताउँछन्।
क्रिकेटर गुल्सनकी आमा अन्जु झाले बच्चादेखि नै निकै अनुशासित रहेको क्रिकेटमा सानैदेखि अत्यन्त लगनशील भएको कारण उसले चाहेको क्षेत्रमा नै उसलाई पठाइएको बताइन्।
छोरा गुल्सनले क्रिकेट सिक्न र सँगसँगै पढ्नको भारतीय क्रिकेटका तत्कालीन कप्तान महेन्द्र सिंह धोनीको सहर नै जाने चाहना व्यक्त गरेकोमा उसको चाहनालाई सम्मान गर्दा सफलता पाएको बताइन्।
राँचीमा रहँदा गुल्सनले निकै राम्रो प्रदर्शन गर्ने गरेको तथा धेरै पटक राँचीमा नै पुरस्कृत तथा सम्मानित भइसकेको उनका बुबा सुनाउँछन्। राँचीमा गुल्सनले जितेका पदकहरु मलंगवास्थित घरमा अझै पनि छ।
सानैदेखि क्रिकेटमा रुचि लिने गरेकोले गुल्सनलाई भारतको झारखण्ड प्रदेशको राजधानी राँचीस्थित अरुणोदय क्रिकेट एकेडेमीमा राखेर पढाउनुका साथै क्रिकेटको प्रशिक्षण गराएको उनको बुबाले बताए। भारतीय क्रिकेटका प्रशिक्षक अरुण विद्यार्थीले गुल्सनको प्रतिभालाई देखेर भनेका थिए – यो मेरो खोटा सिक्का हो।
कोरोना महामारीको पहिलो लहरमाघर फिर्ता भएका गुल्सनले घरेलु मैदानमा खेल्न सुरु गरेका हुन्।
नेपाली मैदानमा कसरी चम्के गुल्सन ?
मलंगवास्थित घरेलु मैदानमा करिब तिन वर्ष अगाडि क्रिकेट खेल्दा राम्रो प्रदर्शन गरेको देखेपछि सर्लाही क्रिकेट संघका अध्यक्ष एवम् क्यानका केन्द्रिय सदस्य माधव कर्माचार्यले बारामा जारी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराएका थिए। खेलाडी तथा दर्शकको राम्रो प्रशंसा पाएका तथा निकै राम्रो प्रदर्शन गरेका भए पनि गुल्सन प्रदेशमा छनौटमा हुन सकेनन्।
प्रदेशले गुल्सनमाथि अन्याय गरेको कर्माचार्यलाई लागेपछि उनकै पहलमा नेपाल पुलिस क्लबमार्फत २०७७ फागुन २२ देखि २९ गतेसम्म काठमाडौँमा आयोजित काठमाडौँ मेयर्स कपमा गुल्सनले सहभागिता जनाउने अवसर पाए। काठमाडाँैको डेब्यु खेलमै ४ विकेट लिँदै २६ रन बनाउँदै नेपाल पुलिस क्लबलाई जित दिलाएका थिए। नेपाल पुलिस क्लबले एपिएफविरुद्ध गुल्सनको बलिङ र व्याटिङको कारण पनि जित निकालेकाले गुल्सनको चर्चा एकैचोटि देशव्यापी हुन पुगेको थियो।
एपिएफविरुद्ध नेपाल पुलिसलाई जित दिलाएपछि गुल्सन नेपालको अन्डर नाइन्टिन क्रिकेट टोलीमा निरन्तर समावेश रहेका छन्। आफ्नै कप्तानीमा पनि अन्डर नाइन्टिन टोलीलाई खेलाएका गुल्सन आफ्नो उमेर समूहका क्रिकेट खेलाडीहरुमा परिचित बनिसकेका छन्।
गुल्सनका प्रशिक्षक माधव कर्माचार्य भन्छन्,मैले आफ्नो रिस्कमा गुल्सनलाई नेपाल पुलिस क्लबमा क्रिकेट खेलाएको थिएँ। डेब्यु खेलमा नै राजधानीमा धेरै राम्रो प्रदर्शन गरेर मेरो शिर उच्च पारेको छ।
तिस वर्षभन्दा लामो समयदेखि क्रिकेटको सेवामा लागेका कर्माचार्य नेपालले विश्वकप खेल्न पाउनु आफ्नो जीवनको पनि सबैभन्दा ठूलो उपलब्धि रहेको र त्यसमा पनि आफूले सिफारिश गरेको खेलाडी चयन हुनुले झा उत्साहित भएको बताउँछन्।
क्रिकेटर गुल्सनले भने अब विश्वकप खेल्न जिम्बाबेमा जाने निश्चित भएपछि आफूलाई जीवनको सबैभन्दा ठूलो खुसी लागेको बताएका छन्।