
जनकपुरधाम- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन भत्काउनसक्ने हैसियत एमालेसँग रहेको चेतावनी दिएका छन् ।
एमालेको 'मिसन ग्रासरुट' अभियान अन्तर्गत शुक्रबार जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा एमालेका उपाध्यक्ष पौडेलले एमाले जिम्मेवार प्रतिपक्षको रुपमा रहने भएकाेले त्यस्तो गतिविधिमा लाग्न नखोजेको बताए।
उनले अहिलेको सत्ता गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको बताए ।
उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने दाबी गरे ।
उपाध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउनेमा केन्द्रित रहेकोले देश र जनताको समस्या समाधान गर्नै नसक्ने आरोप लगाए ।
उनले एमाले राष्ट्रिय राजनीतिको मियोकोव रुपमा रहेको भन्दै एमालेबिना राष्ट्रिय राजनीति एक इन्च पनि अगाडि बढ्न नसक्ने दाबि गरे।
पार्टी एकताको बेला माओवादीको जे हैसियत थियो त्योभन्दा बढी हैसियत दिएर पार्टी एकीकरण गरिए पनि माओवादी भित्रको महत्वकांक्षाका कारण पार्टी एकता टिक्न नसकेको बताउनुभयो । नेकपा विभाजन पश्चात फर्किएको एमालेले विधान अधिबेशन र पार्टीको महाधिबेशन सम्पन्न गरेर देशी विदेशी षडयन्त्रलाई विफल पार्न सफल भएको बताउनुभयो ।
निवर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्री समेत रहेका उनले मुलुकको अर्थतन्त्र धरापमा परेको बताउँदै उनले भने, ‘देशको अर्थतन्त्र एकदम धरापमा परेको छ । राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था भएको छ ।’
उनले यस्तो राजस्वले मुलुकको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भीर नभएको आरोप लगाए।
देशको आर्थिक अवस्था चिन्ताजनक रहेको भन्दै अहिलेसम्ममा गत वर्षभन्दा पनि कम राजश्व उठेको उनले चर्चा गरे । उनले भने, “देशमा उत्पादन छैन र रोजगारी छैन । त्यसैले पुँजीगत खर्चलाई वृद्धि गरेर देशलाई चलायमान बनाउनुपर्छ ।”
एमाले पार्टीलाई शुद्ध र गतिशील बनाउन मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको उनले बताए।
कार्यक्रममा एमालेका सचिव एवम मधेश प्रदेशका इन्चार्ज रघुवीर महासेठले यस अभियान अन्तर्गत संगठित सदस्यताको नवीकरण, पार्टी र जनसंगठनको निर्माणकार्य पहिलो प्राथमिकतामा रहेको बताए ।
एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेका नेता लिलानाथ श्रेष्ठ, नेत्री जुली महतो सहितले आफ्ना मनतव्य व्यक्त गरेका थिए।