काठमाडौंको गौशालाबाट ५० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई सुनसहित पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेमा सुनसरी घर भई काठमाडौं कुमारागाल नयाँ बस्ती बस्ने ३२ वर्षीय जीवन बस्नेत छन्। उनीबाट ५० ग्राम सुन, चार वटा फोन र १ लाख ६० हजार नगद बरामद गरेको हो।
गत बिहीबार कार्यालयको टोलीले कतारबाट सुन ल्याएको भन्ने सूचना पाएको थियो।
उक्त सूचनापछि प्रहरीले धरानका विजयकुमार लिम्बुलाई ५० ग्राम सुनसहित पक्राउ गरेको थियो। उनीमाथि सोधपुछ गरी प्रहरीले शुक्रबार बस्नेतलाई पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाउने तयारी गरेको छ।




