
रौतहट । सरस्वतीको मूर्ति सेलाउने विषयमा विवाद बढेर दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रौतहटले हिजोदेखि लगाएको कर्फ्यु आज पनि जारी छ ।
रौतहटको ईशनाथ नगरपालिका-७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा हिजो साँझ दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।
पूर्वमा जोकाहा, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको छ । सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी रातैभरि परिचालन गरिएको छ । यो गाउँमा पछिल्ला ५ वर्षदेखि मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदै आएको छ ।
दुई पक्षबीच भएको झडपमा केही स्थानीय घाइते भएका छन् । उता महोत्तरीको सम्सी गाउँपालिका-२ परसामा महावीर झन्डाको कलश यात्राका क्रममा हिजो दुई समुदायबीच झडप भएको हो । झडपका क्रममा ३ जना घाइते भएका छन् ।
सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नम्बर २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो ।