
महोत्तरी। महोत्तरीको एकडारा गाउँपालिकाका जनप्रतिनिधिहरु कार्यालयको कामकाज ठप्प गरी भ्रमणमा निस्केका छन् ।
गाउँपालिका कार्यालयको सम्पूर्ण कामकाज ठप्प गरी अध्यक्ष, प्रशासकीय अधिकृत, फाँटका कर्मचारी र कार्यालय सहयोगीहरु मुक्तिनाथ भ्रमणमा गएका हुन् ।
कार्यालयका २/३ जना कर्मचारीबाहेक सबै कर्मचारी पिकनिक भ्रमणमा गएको उपाध्यक्ष महजवी खातुनले जानकारी दिए ।
कार्यालयलाई अलपत्र छाडेर पालिका अध्यक्ष लगायत कर्मचारीहरु पिकनिक भ्रमणमा गएपछि स्थानिय सास्ति भोग्न बाध्य भएका छन् ।
कार्यालयको प्रशासनिक कामको जिम्मेवारी बोकेका प्रमुख प्रशासकिय अधिकृत संतोष कुमार मिश्रसहित लेखा, योजना, कृषि, भेटनरिलगायत अन्य सम्पूर्ण फाँटमा ताल्चा झुण्डिएको छ । कार्यालयको केहि फाँट खुला रहेपनि कर्मचारीको अतोपत्तो देखिएन ।
कार्यालयको यस्तो दुरावस्था हेरेर सामान्य काम गराउन आउने सेवाग्राहीले सास्ती भोग्नुपर्दा गुनासो गरेका छन् । विलाशितामा लिप्त भएर पालिकालाई दुर्गतितर्फ पालिका अध्यक्ष र प्रशासनले लगिरहेको स्थानियको आरोप छ ।
सरकारी बजेट तथा स्रोत साधनको चरम दुरुपयोग गरेर विलाशितामा होमिएका प्रमुख प्रशासकिय अधिकृत मिश्रले नियम कानून मिच्दै राष्ट्रसेवक कर्मचारीको छवि धुमिल गरेको आरोपसमेत लागेको छ ।
यता, पालिकाको अभिभावकत्व भूमिका निर्वाह गर्ने पालिका अध्यक्ष दिप नारायण मण्डलबाटै चरम लापरवाही भएको देख्दा स्थानियबासीले सरकारको काम कर्तव्यमाथि प्रश्न उठ्नु स्वभाविक रहेको जिकिर गरेका छन् ।