
महोत्तरीबाट पैदल काठमाडौं आएका मिटरब्याज पीडितलाई चिसोको समस्या देखिएको छ । वीर अस्पतालको स्वास्थ्यकर्मीको टोलीले गरेको जाँचमा ९ जनामा चिसोको समस्या देखिएको हो ।
९ जनामध्ये ५ जना सामान्य उपचारपछि फर्किएको र बाँकी ४ जनालाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएको अस्पतालले जनाएको छ । पीडित पक्ष र सरकारी टोलीबीच बिहीबार साँझ ६ बजे बैठक बस्ने तयारी रहेको बताइएको छ ।
महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्याजपीडितहरू आइतबार काठमाडौं आइपुगेका हुन् । सुदखोरले दिएको पीडाबाट मुक्ति दिलाउनुपर्ने र मिटरब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने माग सरकारलाई सुनाउन उनीहरू पैदल राजधानी आइपुगेका हुन् ।