काठमाडौँ - नेपाल बार एसोसिएसनले जनकपुर बार र पत्रकार महाससंघ मधेस प्रदेश समितिका बीचको वार्ताबाट समस्या समाधान गर्न आह्वान गरेको छ ।
बारका महासचिव केदारप्रसाद कोइरालाले आज विज्ञप्ति जारी गरी वार्ताको माध्यमबाट समस्या समाधान गर्न आह्वान गर्नुभएको हो । नेपाल बारले वार्ता प्रक्रियालाई बाधा पुग्ने कुनै पनि क्रियाकलाप नगर्न दुवै पक्षलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “विवाद समाधान गर्ने प्रयोजनका लागि वार्ता समिति गठन गर्ने भद्र सहमति भएबमोजिम वार्ता समिति गठन भई स्थलगत तहमै कार्य भइरहेकाले वार्ता प्रक्रियालाई परिणाममुखी बनाउन सरोकार भएकालाई आह्वान गर्दछौँ ।”
सार्वजनिक र पेसागत क्षेत्रमै महत्त्वपूर्ण भूमिकामा रहेको यी दुवै संस्थाका बीचमा संवाद र सहकार्यको आवश्यकतालाई मध्यनजर गरी दुवै संस्थाका केन्द्रीय कार्यसमितिका पदाधिकारीले गत साउन २९ गते छलफलसमेत गरेको बारले जनाएको छ ।




