
महोत्तरी - औरही नगरपालिकाले बिहिवारदेखि नगरपालिका भित्रका छाडा कुकुरहरूकाे बन्ध्याकरण तथा रेबिज रोग बिरुद्ध खोप शिविर सुरु गरेको छ। कुकुरहरुको संख्या वृद्धि हुन नदिन र रेबिज रोग रोकथामका लागि शिविरको आयोजना गरिएको हो ।

शिविरमा द जेन गुडअल ईन्स्टिच्युट नेपालको प्राबिधिक सहयोगको सहकार्य गरेको औरही नगरपालिकाका नगरप्रमुख प्रदिप कुमार खड्काले बताए । औरही नगरपालिकाले यो शिविर १७ गतेसम्म जारी राख्ने नगरप्रमुख खड्काले बताए । नगरप्रमुख खड्काले भने,‘ यस अवधिमा एक सय सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य औरही नगरपालिकाले लिएको छ।

औरही नगरपालिका पशु स्वास्थ्य शाखाका अनुसार १०० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । जसमध्ये ५० वटा पोथी र ५० वटा भाले कुकुर रहेका छन् । पशु स्वास्थ्य शाखाले नगरपालिकाले कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य पूरा हुने बताए । बन्ध्याकरणपछि कुकुरलाई सुरक्षित ढंगले छोडिएको छ ।

