
जनकपुरधाम- सामाजिक तथा धार्मिक सद्भावका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा आज बृहत्त सद्भाव वैठक सम्पन्न भएको छ ।
वैठकमा धर्मको नाउँमा केही व्यक्तिले वर्षौ देखिको सामाजिक सद्भाव विगार्ने काम गरेको बताउदै त्यस्तालाई नियन्त्रणमा लिएर कारवाही गर्नका लागि स्थानीय प्रशासनलाई सहभागिहरुले सुझाव दिनु भएको थियो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले बोलाउनु भएको वैठकमा जानकी मंन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, हिन्दूवादी संघ संस्थाका प्रमुखहरु, मुस्लिम समुदायका धर्मगुरु तथा अगुवाहरु सहभागि भएको कार्यक्रममा आईन्दा आ–आफ्नो धर्म संस्कृति अनुसार चाड पर्व मनाउदा अर्कालाई अघात पार्ने कुनै प्रकारको गतिविधि नगर्ने विषयमा सवै पक्ष सहमत भएका छन् ।
सानो घटनालाई ठूलो बनाएर सामाजिक सञ्जालमा राखेर ठूलो बनाउन खोज्नेको पहिचान गरेर कारवाही गर्नका लागि स्थानीय प्रशासन समक्ष दुवै पक्षका अगुवाहरुले आग्रह गर्नु भएको छ । धार्मिक सांस्कृति सभा जुलुस गर्दा वा निकाल्दा कुनै प्रकारको घरेलु हातहतियार लिएर नगर्ने, जुलुस वा सभा गर्दा स्थानीय प्रशासनसंग अनिवार्य रुपमा ईजाजत लिनु पर्ने विषयमा सहभागिहरुले सुझाव दिनु भएको छ ।
यसका साथै कुनै पनि धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्दा डिजे तथा हर्नको प्रयोग नगर्ने कसैले गरेको खण्डमा स्थानीय प्रशासनले नियन्त्रणमा लिएर कारवाही गर्नु पर्ने निर्णय पनि वैठकले गरेको छ । गत रामनवमीका दिनमा दुई धार्मिक समुदायका बीचमा विवाद उत्पन्न गराउन खोज्ने माथि कारवाही हुनु पर्ने आवाज वैठकमा अधिकांशले सुझाव दिएका छन् ।
वैठकले एक समुदायको चाडपर्वमा असर पार्ने गतिविधि अर्को पक्षवाट नगर्ने निर्णय भएको छ । वैठकमा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज क्ुमार साहले सम्प्रदायिक सद्भाव विगार्ने कामकही कतैवाट हुनु समाजको लागि ठीक नभएको बताउदै यस्तो गतिविधि गर्नेको पहिचान गरेर कारवाही गर्नका लागि सुझाव दिनु भयो ।
जनकपुरधाम उद्योग वाणिज्य संघले सामाजिक सद्भाव विगारेर थला पारेको व्यापार व्यवसायलाई थप संकटमा पार्ने प्रयास हुनु गंभिर चिन्ताको विषय भएको बताउनु भयो ।
कार्यक्रममा धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, विभिन्न पालिकाका जनप्रतिनिधिहरु व्डाका वडाध्यक्षहरु विभिन्न राजनीतिक दलका जिल्ला स्थित अध्यक्षहरु, मदर्शाका मोलानाहरु, मुस्लिम अगुवाहरु, सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाजका अगुवाहरु त्था हिन्दूवादी संघ संस्थाका पदाधिकारीहरु सहभागि भएका थिए ।