
महोत्तरी- बर्दिवास स्थित राष्ट्रिय बाणिज्य बैंकको छेउमा एउटा चिया पसल छ। पसलको बाहिर जम्मा २ वटा बेन्च छन्, जहाँ मानिसहरू चियाको चुस्की लिँदै गफमा मस्त देखिन्छन्। भित्रपट्टि ३ वटा टेबल राखिएको छ। प्रत्येक टेबलमा उही चिया गफमा ब्यस्त ४/४ जना लहरै बसिरहेका छन्।
यो चिया पसलसँग शंकर थापाको दिनचर्या मात्र होइन, ४४ वर्षको अनुभव जोडिएको छ। थापा उमेरले ६८ वर्ष पुगे । उनी बिहान ५ बजे उठ्छन् । गाउँबाट ल्याइदिएको दूध राख्छन् । पहिले जस्तो थापालाई आगो फुकेर पकाउनुपर्ने बाध्यता छैन । सिलिन्डरमा जडान गरिएको चुह्लो बटार्छन् । चिया बसालेर ग्राहकको पर्खाइमा बस्छन्।
६ बजेदेखि चिया पिउनेहरू आइपुग्छन् । बर्दिबासमा थापा चिया पसल निकै प्रसिद्ध छ। थापाको यो पसल चियाका लागि मात्र होइन, राजनीतिक गफ गर्ने अखडाका रूपमा पनि चर्चित छ। कर्मचारीहरूको थकान मार्ने बिसौनी बनेको छ भने विद्यार्थीका लागि सिक्ने र प्रेरणा लिने थलो बनेको छ चिया पसल।
चिया बेचेर नै थापाले छोरा–छोरीको उचित पठनपाठन गराए। विवाह गरिदिए। केही जग्गा, जमिन जोडे, आर्थिक रूपमा सबल बन्दै गए। जीवनका अनेकौँ अप्ठ्यारालाई चियाका गिलासहरूले सहज बनाइदिएको थापासँग सुखद सम्झना छन्।
त्यसैले चियासँगको साइनो थापाको गहिरो बन्यो। ठेलागाडाबाट सुरु गरेको चिया व्यापार अहिले आफ्नै घरमा रूपान्तरण भएको छ। ‘यो घर पनि चियाका गिलासहरूको उपहार हो’, थापा गिलास देखाउँदै भन्छन्। उनी २०२८ सालमा सिन्धुलीको खनियाँखर्कवाट महोत्तरीको बर्दिबास आइपुगेका हुन्।
पहाडमा उकाली–ओराली र धेरै दुःख गरेर थोरै सुख पाइने भएपछि खेतीपाती गर्न उनी बर्दिबास झरेका थिए। ‘चिया बेचेरै यतिका वर्ष बिताइन्छ भनेरचाहिँ सोचेको पनि थिइना’, उनी भन्छन्। चिया बेचेको साढे ४ दशकमा थापाले देशमा निकै ठुला उत्तारचढावहरू प्रत्यक्ष देखे।
२०४६ सालको आन्दोलनदेखि २०५२ सालदेखि सुरु भएको माओवादी सशस्त्र विद्रोहलाई पनि थापाले नजिकबाट नियालेका छन्। तर, व्यवस्था र अवस्था बदल्न गरिएका आन्दोलनप्रति थापालाई खास चासो छैन । व्यवस्था र अवस्था बदल्ने उद्देश्यले सपना देखाउनेहरूले अहिले आफ्नै विलासी जीवनमा भरपूर मनोरंजन लिइरहेको उनको बुझाइ छ।
‘चिया बेच्दाबेच्दै मैले अनेकौँ आन्दोलन देखेको छु । कतिपय आन्दोलनमा सहभागी भएको छु तर मलाई उनीहरूमाथि विश्वास नै उड्यो’, उनी भन्छन् । थापाले चिया पसलको भित्तामा झुण्ड्याएको सम्मानपत्रको फ्रेम देखाउँदै भने, ‘मैले चिया बेचेकै आधारमा उद्योग वाणिज्य संघले सम्मान गर्यो नि !’
बर्दिबास देशभर चियाको विशिष्टताले चर्चित छ । तत्कालीन कांग्रेस नेता बीपी कोइराला र गिरिजाप्रसाद कोइराला विराटनगर जाँदा मात्र होइन, चिया पिउनकै लागि काठमाडौंदेखि बर्दिबास आउँथे। झलनाथ खनाल, माधव नेपाल, केपी ओली जस्ता नेताले पनि बर्दिबासको चियाको विषयमा बेलाबेला चर्चा गर्छन्। यो चर्चाको श्रेय भने थापालाई नै जान्छ। उनले चिया बनाएर पिलाएकाहरू कोही सचिवदेखि प्रधानमन्त्रीसम्म बने तर थापाको चिया बेच्ने तौरतरिका उस्तै छ।
युवा अवस्थाको जस्तो अहिले उनमा जोश, जाँगर छैन। बुढ्यौलीका लक्षणहरूले दिनहुँ उनी थलिँदै गएका छन् । तर, न उनले बनाएको चियाको स्वादमा फरक छ, न त चिया बनाउने तरिकामा नै । ‘चिया बोक्दा पनि अहिले त हात काँप्छ, ज्यान दुख्छ। अब त बूढो भैयो नि !’, थापाले भने ।
चिया बेचेर नै शिक्षित बनाएका छोराहरू कोही नेपाल प्रहरीमा कार्यरत छन् भने कोही बुबाको चिया बेच्ने पेसालाई जीविकोपार्जन गर्ने आधार बनाइरहेका छन्। जेठा छोरा हिमाल थापाको हिमालयन चिया पसल पनि सिन्धुली जाने रोडमा छ। बुबाले गर्दै आएको पेसालाई निरन्तरता दिएका हिमालको चिया पसलको बर्दिबासमा छुट्टै चर्चा हुने गर्छ । ‘जेठो छोराले मैले गरेको पेसा गरेको छ । त्यसले मेरो इतिहासलाई जीवन्त बनाउला जस्तो छ’, थापा भन्छन्।
बर्दिबासमा उनका थुप्रै दौँतरीहरूको कथा पनि उनको जस्तै निकै चाखलाग्दो छ । थापाले त्यस समयमा १ हजार रुपैयाँ ऋण लिएर चिया पसल सुरु गरेका थिए। पछि थुप्रैले चिया पसल सुरु गरे। बर्दिबासलाई चिया पिउने गन्तव्यस्थलकोे रूपमा चिनाउन जयनारायण शर्मा, देवी न्यौपाने आदिको पनि निकै ठुलो भूमिका छ।