
जनकपुरधाम- जनकपुरधामको न्यूरो हस्पिटलमा उपचार खर्च तिर्न नसकेर घर फर्किन नसकेर बन्धक बनेकी धनुषाको सबैला नगरपालिका ९ की मन्तोरिया देवी राय घर फर्केकी छिन् ।
अस्पतालमा बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाका मेयर कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी बन्धकमुक्त गराएका हुन्।
आफ्नो नगरपालिकाका नागरीक उपचार खर्च तिर्न नसकेर बन्धक बनेको खबर पाएर मेयर यादवले मन्तोरियाको अवस्था बारे बुझ्न अस्पताल पुगेका थिए भने बुधवार पनि आफैं अस्पताल पुगेर उनलाई बन्धकमुक्त गराई घर फर्काएका हुन् ।
मेयर यादवले तत्काल एकलाख रुपैयाँ नगरपालिकाले सहयोग गरेको र बाँकी रकम सहयोगी दाताहरुबाट संकलन गरी चुक्ता गर्ने शर्तमा मन्तोरियालाई बन्धनमुक्त गराएको बताए।
उपचार खर्च तिर्न नसक्दा सबैला नगरपालिका ९ की मन्तोरिया अस्पताल मै बन्धक रहेको समाचार विभिन्न संचारमाध्यममा सार्वजनिक भएपछि स्थानीय सरकार तथा प्रशासनको ध्यानाकर्षण भएको थियो ।
समाचार प्रकाशित भएपछि सोमबार सबैलाका मेयर कारीराम यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरणकुमार मिश्र अस्पताल पुगेर मन्तोरियाको अवस्था बारे जानकारी लिएका थिए।

पीडित मन्तोरियाको अवस्था बुझेपछि सबैलाका मेयर यादवले आफूले अस्पतालको खर्च व्यवस्थापन गरि बन्धन मुक्त गराउने बाचा गरे अनुसार मंगलबार सबैला नगरपालिका कार्यपालिकाको बैठक बसेर एक लाख रुपैयाँ नगरपालिकाले उपचार खर्च उपलब्ध गराउने र बन्धकमुक्त गराउन पहल गर्ने निणर्य गरेको मेयर यादवले बताए।
नगरकार्यपालिकाको निर्णय पश्चात बुधबार मेयर यादव जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी संग मन्तोरियालाई बन्धकमुक्त गराउने विषयमा छलफल गरे। छलफल पश्चात सहायक प्रजिअ भण्डारीले अस्पताललाई तत्कालै फोन गरी बन्धक मुक्त गराउन निर्देशन दिए पछि मन्तोरिया घर फर्किन सफल भएकी हुन्।
यता उक्त न्यूरो अस्पताल स्वास्थ्य सेवा विभागमा दर्ता बिनै एकवर्षदेखि सञ्चालनमा रहेको भन्ने विषयमा पत्र लेखेर जिल्ला प्रशासन कार्यालय धनुषाले सुझाव मागेको छ ।
माघ १२ गते मन्तोरियालाई मोटरसाइकलले ठक्कर दिंदा गम्भिर घाइते अवस्थामा उपचारार्थ जनकपुरधाम मुरलीचोक स्थित न्यूरो अस्पतालमा भर्ना भएकी थिइन् । उनको अस्पतालमा उपचार राम्रो भएकोले ठीक पनि भईन् ।र उनलाई अस्पतालले फागुन २० गते डिस्चार्ज गरिदियो । तर अस्पतालको उपचार खर्ज तिर्न नसक्दा मन्तोरिया घर फर्किन सकेकी थिइनन्।
अस्पतालको उपचार खर्च वापतको ६ लाख ६९ हजार ३०० र फर्मेसीमा औषधिको २ लाख ५ हजार ७८२ तिर्न बाँकी रहेको थियो जसकारण अस्पतालमा उनीसँगै तीन छोराछोरी र वृद्ध ससुरा सहित ३८ दिन देखि बन्धक बनेका थिए।
आफ्नो कान्छो छोराको बालपोषण भत्ता लिन माघ १२ गते मन्तोरिया सबैला बजारको एक बैंकमा खोलेर अपराह्न ४ बजे पैदल फर्किरहेका बेला सत्तोखर गोविन्दपुर सडक खण्डमा बा. ६१ प ६६३३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको ठक्करबाट सडकमा लडेकी उनलाई मोटरसाइकलले ४०-५० मिटर पर सम्म घिसारेको थियो । यसरी सडकमा घिसारिए पछि उनको पेटमा ठाउँ ठाउँमा प्वाल परेर घाउ लाग्यो।
मोटरसाइकल धनुषा कै शहीदनगर नगरपालिका-१ बेमर्खी टोलका २५ वर्षीय दीपक कुमार रायले चलाइरहेका थिए भने सोही ठाउँ बस्ने ३५ वर्षीय गजेन्द्र यादव पछाडी सवार थिए । चालक तत्कालै समातिए । पछाडि बसेका यादव भने अहिलेसम्म फरार छन् । चालक रायको घरपरिवारको अवस्था दयनीय छ । उनीहरु फर्केर अस्पताल आएनन् । दुर्घटना पश्चात मन्तोरियाकी ससुरा रामप्रसाद ठक्कर दिने मोटरसाइकल, चालक र पछाडि सवारमाथि किटानी जाहेरी प्रहरीमा दर्ता गराए।
अंगभंग मुद्दामा चालक राय जिल्ला अदालत धनुषाको आदेशमा सिन्धुली कारागारको थुनामा छन् मोटरसाइकल धनी काठमाडौंका छन् । ठक्कर दिने पक्षले उनलाई अहिलेसम्म उपचार खर्च वापत केहि दिएको छैन ।
सम्पत्तिको नाममा दुई धुर घडेरीमा मात्र उनको छाप्रो घर छ । श्रीमान वैदेशिक रोजगारमा कतारमा छन् । तर कम्पनी डुबेर घर फर्किने अवस्थामा छन् । सातलाख भन्दा बढी रकम ऋण तथा गाउँ समाजले चन्दा संकलन गरी दिएपछि अस्पताललाई तिरेका थिए तर झण्डै ९ लाख रुपैयाँ तिर्न बाँकी थियो ।
उपचार खर्च तिर्न नसकेर मन्तोरियासँगै ८ वर्षीया छोरी वर्षा, ५ वर्षीय छोरा महेश्वर, ३ वर्षीय उमेश र ७१ वर्षीय ससुरा रामप्रसाद राउत अस्पतालमा मै बस्न बाध्य थिए । रामप्रसादले जसोतसो बुहारीको हेरचाह र तीन नाति नातिना सम्हालेका थिए।
सुरुमा दुर्घटनापछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि न्यूरो हस्पिटलमा अस्पतालले रेफर गरिएको थियो ।