धनुषा- नेपाली कांग्रेसका पुर्व उपसभापती विमलेन्द्र निधीले मधेशमा नेपाली कांग्रेसले आफनै नेतृत्वमा सरकार बनाउनुपर्ने बताउनुभएको छ।
नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवसको अवसरमा नेविसंघको धनुषा जिल्ला कार्यसमितिले आयोजना गरेको शिक्षा प्रणालीमा सुधार विषयक बिचार गोष्ठी कार्यक्रममा बोल्दै पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधीले मधेस कांग्रेसको लागि आधारभुमी रहेकोले कांग्रेसको अभिभावकत्व बिना अधुरा रहेको बताउनुभयो ।

उहाँले आफनै नेतृत्वमा सरकार बनाउन अहिले र पाँच वर्ष पछि हुने निर्वाचनमा पनि त्यसको तयारीमा जुटन नेविसंघका साथै नेता कार्यक्रताहरुलाई आग्रह गर्नुभयो ।
नेता निधिले हालको गठबन्धन अगामी पाँच वर्ष सम्म यथावत रहनुपर्ने पक्षमा आफु रहेको बताउनुभयो ।
उहाँले बैशाख १० गने हुन गइरहेको उपनिर्वाचनमा तनहु १ र चितवन २ मा कांग्रेसका र बारा २ मा गठबन्धनका उम्मेदवार जिताउन नेविसंघ सहित नेता कार्यकर्तालाई परिचालित हुन समेत आग्रह गर्नुभयो ।
निधिले मुलुकको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै उहाँले शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफैं अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
नेता निधिले व्यक्तिवाद, भ्रष्टाचार प्रवृत्तिलाई निमिट्यान्न पार्नका लागि शिक्षाको महत्वपूणर् भूमिका हुने जिकिर गर्नुभयो।
उहाँले दश जोड दुईसम्म निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने भन्दै सीपयुक्त र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
निधिले आजकल नैतिक शिक्षा नहुनाले सामाजिक मर्यादा बिर्सन थालेको उल्लेख गर्दै विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य बनाउनुपर्ने बताउनुभयो।
नेता निधिले अहिलेको सरकारले शिक्षा क्षेत्रलाई उच्चतम प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो।
निधीले देशमा विश्वविद्यालयहरु थपिनु हुदैन भन्ने तर्क विचलित र संकुचित मानसिकताको उपज रहेको समेत बताउनुभयो।
उहाँले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालयलाई मातृ वा जननी विश्वविद्यालयको रुपमा राखेर देश भरिमा विभिन्न क्षेत्रका विशेष शिक्षा र अध्यापनका लागि कम्तिमा २५ वटा बिश्वविद्यालय स्थापना हुनुपर्दछ ।”
निधिले प्रश्न गर्नुभयो, “भारत, बंगलादेशहरुमा त्यत्रो विश्वविद्यालय कसरी चल्छ ? लाखौं विद्यार्थीहरु त्यहाँ गएर पढने अनि पैसा खर्च कसरी गर्ने गरेका छन ?” उहाँले जनकपुरधामको राजर्षी जनक विश्वविद्यालयमा भइरहेको लफडा नियोजित र शिक्षा सुधार हुन नदिने षडयन्त्र रहेको बताउनुभयो।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) स्थापना भएको ५४ वर्ष पूरा भएको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी स्थापनाको स्वणर् जयन्ती मनाइएको हो ।

विसं २०२७ साल वैशाख ६ गते काठमाडौंंको स्वयम्भूस्थित सत्तलमा नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो ।
नेपाल विद्यार्थी संघको संस्थापक धनुषा सचिव र अधिवेशनबाट बनेको पहिलो राष्ट्रिय कार्यसमितिका अध्यक्ष समेत रह्नु भएको निधीले देशको प्रधानमन्त्री, राष्ट्रपति सहितका कांग्रेसका शिर्षनेताहरु, देशका चर्चित नायक नायिका, अधिवक्ता, पत्रकार सहित देशका हरेक क्षेत्रका अगुवा नेविसंघको उत्पादन रहेको भन्दै नेविसंघका नेताहरुलाई राजनिति मात्र होइन आफुलाई मन परेको क्षेत्रमा मन लगाएर अध्ययन गर्न समेत आग्रह गर्नुभयो।
कार्यक्रममा प्रदेश सांसद रामसरोज यादव, कांग्रेस धनुषा जिल्ला सभापती योगेन्द्र पजियार, नेविसंघ धनुषा सभापती सुजित यादव सहितकाले शुभकामना मनतब्य व्यक्त गर्नुभएको थियो ।


