
महोत्तरी - मधेस प्रदेशका ५० वटा विद्यालयमा अध्ययन गर्न अपाङ्गता भएका १५ हजार ६ सय ४९ विद्यार्थीले उच्च प्रविधिमार्फत अध्ययन गरिरहेका छन् । प्रदेशका ८ जिल्लामध्ये धनुषा, महोत्तरी, सर्लाही र रौटहटका विद्यालयमा विशेष शिक्षा लिइरहेका विद्यार्थीले उच्च प्रविधिमार्फत अध्ययन गरिरहेको प्रेरणा संस्थाकी अध्यक्ष विमला घिमिरेले जानकारी दिइन् ।
द्यृष्टिविहीन, सुस्त श्रवण, अटिजम, बौद्धिक वा अन्य अपांगता भएका विद्यार्थीहरुको उपलब्धिमुलक सिकाइका लागि काम गरिरहेको प्रेरणाले प्रत्येक विद्यालयमा आवश्यकता अनुरुप स्मार्ट टेलिभिजन, ट्याबलेट, दृष्टिविहीन मैत्री रेडियो, ब्रेल स्टाइलस र स्लेट, विभिन्न डिजिटल एप्स राखिएका शैक्षिक सामग्रीसहितका पेनड्राईभ लगायतका सामाग्री विद्यार्थीलाई उपलब्ध गराएको घिमिरेले बताइन् । विद्यालयमा उपलब्ध प्रविधिले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव परिरहेको विद्यालयले जनाएको छ ।
विद्यार्थीले प्रविधिलाई सदुपयोग गर्दै पढाइमा उपलब्धि हासिल गर्दै अघि बढिरहेका महोत्तरीको जनता मावि कोलुवा बगैयाका प्रधानाध्यापक जिवछ ठाकुरले बताए । पढाइप्रति विद्यार्थीको जागरुकता बढेको उनले बताए । टेलिभिजन सुनेर, हेरेर, ट्याबलेट र विभिन्न शैक्षिक एप ट्याबलेट मार्फत चलाएर पनि विद्यार्थीले पढाइमा ध्यान दिइरहेको उनले बताए । गौर बाल मन्दिर रौतहटका प्रधानाध्यापक गणेश यादवले गीत, कविता, गजल समेतमा विद्यार्थीहरुको चासो बढिरहेको बताए ।
अहिले अपाङ्गता भएका विद्यार्थी पनि विद्यालयका अन्य मनोरन्जनात्मक गतिविधिमा सहभागी हुन थालेको यादवले जानकारी दिए । सरकारले नै फरक क्षमता भएका विद्यार्थीका लागि पढ्न भौतिक संरचनादेखि खेल्ने मैदान र अन्य आवश्यक शैक्षिक व्यवस्थापन मिलाइदिनुपर्ने यादवले बताए । अन्य क्रियाकलापमा निकै सक्रिय श्रवण शक्ति नभएका विद्यार्थी विकेश रामले टेलिभिजन, ट्याबलेट र शैक्षिक एपहरुद्वारा पढाइमा निकै मद्दत भएको बताए ।
पहिले देखेर, छामेर, सुनेर, सुँगेर पत्ता लगाउने र सिकाइ गर्ने फरक क्षमता भएका व्यक्तिका लागि अहिलको प्रविधि बरदान बन्दै गएको जलधर कमलदेव नमुना मावि सर्लाहिकी प्रध्यानाध्यापक बिनिता कुमारी साहले बताइन् ।