
काठमाडौ - संघीय संसद्को हिउँदे अधिवेशन राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।
कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२ः०० बजेदेखि अन्त्य गरेको छु ।’
राष्ट्रियसभामा १३ औं अधिवेशन अन्तर्गत यो हिउँदे अधिवेशनमा १९ वटा बैठक बसेको छ भने प्रतिनिधिसभामा २८ बैठक बसेको छ । जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार त्यसअघि बजेट तयारीबारे संसदमा छलफल हुने गर्दछ ।