
बिजलपुरा । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १३ स्थित रहेको खानेपानी वितरण कार्य शनिबारबाट पूनः सुचारु भएको छ । करिब दश महिनादेखि बन्द रहेको खानेपानी बर्दिबास नगरपालिका वडा नम्बर १३ मा वडा अध्यक्ष लक्ष्मण सिंहले आफ्नो निजि स्रोतबाट बाँकि रहेको विद्युत महसुल १ लाख रुपैया तिरेर सञ्चालनमा ल्याएको हो । स्थानीय प्रदिप महतोका अनुसार ६० घरधुरीमा खानेपानी वितरण भइरहेको छ ।
खुख्खायाममा खानेपानीको हाहाकार भएको थियो । स्थानीय घुरन महतोले एक दशक अघि खानेपानीको योजना निर्माण स्थलका लागि १ कठ्ठा जग्गा दान गरेका थिए । तर, अहिले आएर जग्गाधनीले सम्झौता लागु गर्न नमान्दा खानेपानी वितरणमा पटक पटक समस्या उत्पन्न हुँदै आएको छ । खानेपानी स्थलमा जग्गाधनीले घर बनाएको छ । यसै कारण गत वर्ष असारदेखि खानेपानी वितरण बन्द भएको थियो । खानेपानी आयोजना समिति विहिन भएपछि वडा अध्यक्ष सिंहले आफ्नो जिम्मेवारीमा बिजलपुरा खानेपानी योजना ल्याएर खानेपानी आयोजना सञ्चालनमा ल्याएका छन् ।

बैशाखजस्तो सुख्खायाममा खानेपानीको चरम आभाव भएपछि चर्को आलोचना भएको थियो । वडा अध्यक्ष लक्ष्मण सिंहले पहल गरेर गाउँलेको घरघरमा खानेपानी पुर्याएका छन् । खानेपानी पाएपछि स्थानीयहरुले वडा अध्यक्ष सिंहलाई धन्यवाद दिएका छन् । साथै वडामा खानेपानी र सिचाईका लागि तीन वटा ईनार पनि निर्माण गर्न लागिएको वडाअध्यक्ष सिंहले बताए ।