महोत्तरी - महोत्तरीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ६८ जनाको ज्यान गएको छ भने २१९ जना गम्भीर घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले गत आर्थिक वर्षको तथ्यांक सार्वजनिक गर्दै कुल ५०४ सवारी दुर्घटनामा परेका जनाएको छ।अन्य सवारीभन्दा मोटरसाइकल बढी दुर्घटनामा परेका छन्। अनियन्त्रित र ओभर स्पिडमा सवारी चलाउने, मापसे गरी सवारी चलाउने र कतिपय सडकको अवस्थाको कारणले समेत दुर्घटनाहरू भएका ट्राफिक प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए।
ट्राफिक प्रहरी निरीक्षक भट्टराईले सवारी दुर्घटनाका विविध कारण रहेको भन्दै सवारी दुर्घटना कम गर्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए। सवारी दुर्घटना न्यूनीकरण गर्न गत आर्थिक वर्षमा एक हजार ४८६ कार्यक्रम गरी ९० हजारभन्दा बढी यात्रु र सवारीचालकलाई सवारी दुर्घटना र ट्राफिक नियमसम्बन्धी सचेतना गराएको उनको भनाइ छ।
उनका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने ४० हजार ५५ सवारीलाई कारबाही गरी तीन करोड ४६ लाख २५ हजार ३५० राजस्वसमेत संकलन गरिएको छ।