
महोत्तरी- विश्व प्रेस दिवसको अवसरमा मधेस प्रदेशका ८ जना वरिष्ठ पत्रकारहरु सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले प्रत्येक जिल्लाका एक जना वरिष्ठ पत्रकारलाई सम्मान गरेका हुन् ।

सम्मानित हुने वरिष्ठ पत्रकारहरुमा व्यास शंकर उपाध्याय (सप्तरी), दिनेश्वर गुप्ता (सिराहा), वी.एम. खनाल (धनुषा), दशरथ भण्डारी (महोत्तरीं), शंकर श्रेष्ठ (सर्लाहीं), शिव पुरी (रौतहट), गम्भीरा सहनी (बारा) र लालबाबु शेख (पर्सा) रहेका छन् ।

रौतहटको चन्द्रनिगाहपुरमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ पत्रकारहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सम्मानित गरेका हुन् ।

पत्रकारिता पेशामा सक्रिय रुपमा लागेका उनीहरुलाई मधेस पत्रकारिता सम्मानबाट सम्मानित गरिएको नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले जानकारी दिएका छन् । सम्मानित हुने पत्रकारहरु लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध भई सक्रिय रुपमा क्रियाशिल रुपमा पत्रकारिता पेशा अंगाल्दै आएको अध्यक्ष कर्णले बताए ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ रौटहट शाखाको व्यवस्थापनमा आयोजित सो मधेस संचार सम्मेलनमा मधेश प्रदेशको संचार कानुनको सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रमका बीच आठवटै जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो ।