
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारीहरूमाथि छानबिन हुनुपर्ने बताएको छ । आइतबार बसेको प्रतिनिधि सभामा भाग लिँदै रास्वपाका सांसद हरि ढकालले भनेका छन्, “भ्रष्टाचारका विरुद्ध र भ्रष्टाचारीका विरुद्ध निर्ममताका साथ छानबिन कारबाही हुनुपर्छ ।”
उनले भ्रष्टाचारीहरू धुन्धुकारी भएको बताए । “भ्रष्टाचार गर्नेहरू धुन्धुकारीहरू हुन् । धुन्धुकारीहरूको ३३ वर्षको ३३ सय भ्रष्टाचारको काण्ड छानबिन हुनुपर्छ । लागेको होला— कलियुगमा जे गरेपनि हुन्छ । कलियुगको ४ लाख ३२ हजारमध्ये जम्मा ५ हजारमात्रै गएको छ । जे पनि गर्न पाइँदैन ।
यो ३३ वर्षका ३३ सय काण्ड; चाहे त्यो लडाकु शिविरका काण्ड होस्, चाहे त्यो ३३ वर्षका हरेक काण्डका । आयोग बनाएर छानबिन हुनुपर्छ,” उनले भनेका छन् ।
उनले नक्कली शरणार्थी प्रकरणमा सरकारले देखाएको तदारुकताका लागि धन्यवाद भनेका छन् । सबै काण्डहरू यसैगरी अगाडि बढ्नुपर्ने उनले बताएका छन् ।