धनुषा- जनकपुरधाममा आदिकवि भानुभक्त आचार्यको शालिक पुनःनिर्माण कार्य अबलिम्ब सुचारू नगरिए विभिन्न दलका भ्रातृ संगठनहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्।
जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीको विरोधका कारण शालिक पुन:निर्माणको काम स्थगित गरिएको थियो। पुन:निर्माणको काम सुचारू नगरे चरणबद्धरूपमा आन्दोलन गर्ने १३ वटा भ्रातृ संगठनले चेतावनी दिएका हुन्।




संगठनले जनकपुरधाम उपमहानगर र जिल्ला प्रशासन कार्यालयविरूद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो। संगठनले मंगलबार उपमहानगरलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ।
नेपाली कांग्रेस निकट नेविसंघ र नेपाल तरुण दल, नेकपा एमाले निकट युवा संघ अनेरास्ववियु र युथ फोर्स, नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, युवा संघ नेपाल, राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले चेतावनी दिएको हो।

यी संगठनले संयुक्त रूपमा मेयर मनोज साहलाई ध्यानाकर्षण पत्र बुझाउँदै भानुभक्तको शालिक अबिलम्ब निर्माण गर्न माग गरेका हुन्।
‘छिटोभन्दा छिटो भानुभक्तको शालिक निर्माण कार्य सुचारू नभए हामी चरणबद्ध आन्दोलनमा जानेछौं र त्यसको सम्पुर्ण क्षतिपूर्तिको जिम्मेवारी उपमहानगरपालिका स्वयम् हुनेछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।
गएको वैशाख १६ गते जनकपुरधामका मेयर मनोज साह शालिक पुन:निर्माणको शिलान्यास गर्न पुगेपछि जसपा, लोसपा र जनमत पार्टीका नेता कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका थिए। विरोध प्रदर्शन हुँदै गर्दा प्रहरी तैनाथ गरेर मेयर साहले जगको इटा राखेका थिए।
जसपा र लोसपाले शालिक बन्न नदिने अडान लिएपछि निर्माण कार्य स्थगित छ।
२०६३ सालको मधेश आन्दोलनका क्रममा आन्दोलनकारीले यहाँ रहेको भानुभक्तको शालिक तोडेर ‘भानुचोक’ को साटो मधेश आन्दोलनका पहिलो शहीद रमेश महतोको नाममा ‘रमेशचोक’ नाम राखेका थिए।
उनीहरूले यो ठाउँमा भानुभक्तको साटो रमेश महतोको शालिक निर्माण हुनुपर्ने माग गरिरहेका छन्। विवादपछि शालिक निर्माण हुने स्थानमा अहिले खाल्डो खनेर छोडिएको छ। यद्यपि शालिक निर्माणका लागि सर्वदलीय बैठकबाट सहमति खोज्ने प्रयास भइरहेको मेयर साहको भनाई छ।

विश्व हिन्दु परिषद्का विभिन्न संगठनहरूले भानुभक्तको शालिक पुन:निर्माणको माग गरेपछि जनकपुरधाम उपमहानगरले त्यसका लागि २० लाख रुपैयाँ बजेट छुट्याएको छ। शालिक निर्माणका लागि विश्व हिन्दु परिषदका सदस्य प्रभु जलानकै अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ। हिन्दु राष्ट्र र राजतन्त्र फर्काउनुपर्ने अभियानसहित विभिन्न हिन्दुवादी संगठनहरू पछिल्लो समय जनकपुरमा सक्रिय छ।




