जनकपुरधाम- गत बैशाख १ गते श्रीमान र घरपरिवारबाट शरीरमा आगो लगाएर हत्या प्रयास गरिएको पीडित श्वेता झाले आफूमाथि मिलापत्रका लागि चौतर्फि दबाब आइरहेको बताएकी छन् ।
२८ वर्षीया श्वेतालाई उनका श्रीमान राजिव झा, देवर कमलेश झा र सासु द्रौपदी झा मिलेर दहेजका लागि शरीरमा आगो लगाएर हत्याको प्रयास गरेका थिए । श्वेताको पेटदेखि तल्लो भागसम्म ३५ प्रतिशत जलेको छ ।
आइतबार पत्रकारसँगको कुराकानीमा श्वेताले आफूमाथि घटना मिलापत्रका लागि प्रहरी प्रशासन र कानून व्यवसायीहरुले दबाब दिइरहेको सुनाइन् ।
उनले भनिन्, ‘इलाका प्रहरी कार्यालय फूलगामाका प्रहरी निरीक्षकलगायत कानून व्यवसायी रेखा झाले पनि मलाई मिलापत्र गर्न भनिरहेका छन् । तर, म अब मिलापत्र चाहँदिन । भोलि फेरि यस्तो घट्ना नदोहोरिने कुनै ग्यारेन्टी छैन । यस्तो अवस्थामा मेरो दुई सन्तानलाई कसले हेर्छन ? म अब आफ्नो श्रीमानसँग छुट्टिएर आफ्नो सन्तानको हक अधिकार मात्रै खोजिरहेकी छु ।’
उनले प्रहरीले श्रीमान राजिव झालाई पक्राउ गरिसकेपनि अहिलेसम्म देवर र सासुलाई पक्राउ गर्न नसक्नु दुःखद रहेको बताइन्।
श्वेताले यसअघि पनि पटक पटक राजिव र उनको परिवारका सदस्यहरुले आफूलाई कुटपिट गर्दै आएको दुःखेसो पोखिन् । उनले आफ्नो सन्तानहरु पनि अहिलेसम्म घरवारविहिन रहेको र आफूहरु अहिले धेरै पीडामा रहेको बताइन् ।
श्वेताका पिता जयनारायण झाले बिहे भएको एक वर्षमै छोरीलाई विभिन्न बहानामा उनीहरुले कुटपिट गर्दै आएको बताए । उनले राजिवका परिवारले दहेजको रुपमा ३ तोला सुन दिन आफूलाई विगतदेखि नै पटक पटक दबाब दिँदै आएको र सो कुरा आफूले स्वीकार नगर्दा श्वेतालाई मानसिक र शारीरीक रुपले कष्ट दिएको बताए ।
उनले भने, ‘विवाह भएको १० वर्ष वितिसक्दा पनि ३ तोला सुन नदिएको भन्दै उनीहरुले श्वेतालाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए । पछिल्लो पटक आगो लगाएर हत्या गर्ने प्रयास नै गरेका छन् ।’
‘नेपालकै नातेदारले ‘केटा राम्रो छ’ भनेपछि छोरीको बिहे गर्न तयार भएको थिएँ । २ लाख ५० हजार भारतीय रुपैयाँ दाइजो पनि दिएँ,’ उनले भने, ‘तर, राजीवको परिवारले ३ तोला सुनको माग राख्यो । मैले सुन दिन नसक्ने भन्दै कुरा टार्दै गएँ । त्यसपछि नै श्वेतामाथि घरमा यातना सुरु भएको हो ।’
‘नयाँ वर्ष थियो । म बिहानैदेखि घरको काममा व्यस्त थिएँ । श्रीमान् बाहिरबाट रक्सी खाएर आउनुभो । मेरो जेठो छोरालाई बिना काम कुट्नुभो । म केही बोलिनँ । फेरि छोरीलाई कुट्न थाल्नुभो अनि मैले प्रतिकार गरेँ’, श्वेताले पीडा पोख्दै भनिन्, ‘नयाँ वर्षको दिन छोराछोरीलाई बिना काम किन कुट्नुभएको हो भनी विरोध गर्दा उल्टै मलाई फोहोर गाली गर्न थाल्नुभो । एकै छिनमा सासु र देवर पनि आएर गाली बेइज्जती गर्न थाले । मैले जवाफ दिँदा मुखमुखै लाग्छेस् भनेर उल्टै कुट्न थाले । पछि सासुले हात समात्नुभो, देवरले टाउको र श्रीमानले मेरो कपडामा सलाई बालिदिनुभो ।’
जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा घर भएकी श्वेताको माइत भारतको कोठिया गाउँमा छ । उनको १८ वर्षकै उमेरमा राजीवसँग २०६९ वैशाख ४ गते विवाह भएको थियो ।
श्वेताले बिहे भएदेखि नै आफूले नर्क जीवन भोग्दै आएको सुनाइन् । उनले आफूमाथि निरन्तरको कुटपिट, मानसिक यातना र दुःखको कुनै हिसाब नै नरहेको बताइन् ।
राजीव र श्वेताका ९ वर्षका छोरा र ७ वर्षकी छोरी छन् ।
श्वेतालाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटनामा संलग्न उनका श्रीमान राजिव झा भने अहिले प्रहरी हिरासतामा छन् । श्वेताले घरेलु हिंसा मुद्दामा जाहेरी दिएपछि प्रहरीले राजिवलाई बैशाख ९ गते पक्राउ गरेको थियो ।


