जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताएका छन् ।
१६औँ गणतन्त्र दिवसका उपलक्ष्यमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै उनले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरू कटिबद्ध रहेको उल्लेख गरेका छन् ।



‘गणतन्त्रको अर्थ हो जनताका छोराछोरी आफ्नो शासन आफैँ गर्न सक्षम छन् । देशहितको अर्थ लोकहित हो । यसमा शङ्का छैन’, शुभकामना सन्देशमा भनिएको छ, ‘जतिसुकै ठूलो पदमा पुगे पनि नेतृत्व कर्ता दायित्व हीन हुन सक्दैनन् । नेताले गल्ती गरे जनदण्ड भोग्नुपर्ने हुन्छ ।’
‘हामी अगाडि बढिसकेका छौँ, अब जनताका अपेक्षाका कसीमा खरो उत्रन जरुरी छ । त्यसमा कटिवद्ध छौँ’, भन्दै मुख्यमन्त्री यादवले गणतन्त्र दिवसका अवसरमा मधेस प्रदेश र समस्त देशवासीमा शुभकामना व्यक्त गरेका छन् ।
यता, गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अर्थमन्त्री संजयकुमार यादवले जनराज्य अर्थात संघीय लोकतन्त्र गणतन्त्र स्थापना भएको १६औं वर्ष आज जेठ १५ गते अर्थात गणतन्त्र दिवस २०८० को अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘नेपाली जनताको त्याग, तपस्या, संघर्ष र बलिदानीको ठूलो उपलब्धीको रुपमा २०६५ जेठ १५ गतेको संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र नेपालको आमूल परिवर्तनहरुमध्ये सर्वश्रेष्ठ परिवर्तन हो । गणतन्त्र स्थापनाका लागि भएका मधेश आन्दोलन, जनयुद्ध, जनआन्दोलन एवम् विभिन्न राजनीतिक संघर्षहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका घाइते तथा अपाङ्ग, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । यस महत्वपूर्ण परिवर्तनका लागि नेपाल आमाका हजारौंं होनहार सन्तानको बलिदानीको बलमा प्राप्त सङ्घीय लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत एवम् स्थायित्व प्रदान गर्न संविधानले निर्दिष्ट गरे अनुसार सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्बोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य हो । प्राप्त अधिकारलाई संस्थागत गर्दै बाँकी अधिकारका लागि आमजनताको खबरदारी समेत उत्तिकै आवश्यक छ ।’
अर्थमन्त्री यादवले भनेका छन्, ‘एकातिर आर्थिक मन्दी जस्तो समस्याबाट हामी गुज्रिरहेका छौँ भने अर्कोतर्फ जनताको कठोर सङ्घर्षबाट प्राप्त यस उत्कृष्ट व्यवस्थामाथि प्रहार गर्न देशी–विदेशी शक्तिहरु लागि परेका छन् । यो महत्वपूर्ण र आमूल व्यवस्थालाइ जोगाउन र संस्थागत गर्न हामी सबै सजग रहँदै आ–आफ्नो तर्फबाट कठोर भूमिका निर्वहण गर्नुपर्ने हुन्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी छ । संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन आमजनताले अनुभूती गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुनेछ । यस अवसरमा संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भनी विश्वास सहित सम्पूर्ण देशवासी र प्रदेशवासीमा पुनः गणतन्त्र दिवसको हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु ।’




