धनुषा । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्ग विस्तारको काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। इन्धन र निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको कारण देखाउँदै निर्माण व्यवसायीले कामको गति घटाएपछि सर्लाही, महोत्तरी र धनुषा खण्डमा राजमार्ग विस्तार प्रभावित बनेको हो।
कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) अन्तर्गत राजमार्गलाई चार लेनमा विस्तार गर्ने काम गत वर्षदेखि सञ्चालनमा छ। यसअन्तर्गत पुल, कल्भर्ट तथा सडक निर्माणका काम भइरहेका छन्। तर आयोजनाले तोकेको प्रगतिभन्दा काम निकै पछाडि रहेको छ।



आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार दासका अनुसार अहिलेसम्म करिब ४७ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने भए पनि हालसम्म करिब २५ प्रतिशत मात्र काम पूरा भएको छ।
“निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेका छौँ, तर उहाँहरूले इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धि भएको कारण देखाउँदै कामलाई तीव्रता दिन सकिरहेका छैनन्,” आयोजना प्रमुख दासले बताउनुभयो।
उहाँका अनुसार एउटा जिल्लामा कम्तीमा आठ सयदेखि एक हजार कामदार परिचालन गर्नुपर्ने भए पनि अहिले फिल्डमा मुस्किलले ५०–६० जना कामदार मात्र देखिने गरेका छन्। यसले पनि निर्माण कार्य प्रभावित भएको उहाँको भनाइ छ।
केही दिनअघि मधेश प्रदेश भ्रमणमा आएका सङ्घीय पूर्वाधार विकास मन्त्री सुनील लम्सालले पनि राजमार्ग विस्तारको काम समयमै सम्पन्न हुने गरी गति बढाउन आयोजना कर्मचारी तथा निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको थियो।
आयोजना कार्यालयका अनुसार तीन जिल्लामा समग्र प्रगति लक्ष्यभन्दा करिब २२ प्रतिशत कम रहेको छ। जिल्लागत रूपमा धनुषामा २८ प्रतिशत, सर्लाहीमा २५ प्रतिशत र महोत्तरीमा सबैभन्दा कम २३ प्रतिशत काम सम्पन्न भएको छ।
आयोजना प्रमुख दासका अनुसार सुरुको चरणमा बिजुलीका पोल सार्ने, रुख कटान तथा लिलाम प्रक्रिया जस्ता कारणले पनि ढिलाइ भएको थियो। पछिल्लो समय भने मुख्य चुनौतीका रूपमा इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धि देखिएको छ।
रसुवा कन्स्ट्रक्सनका प्रतिनिधि सुजित रिजालले सुरुमा निर्माण कार्य तीव्र गतिमा अघि बढे पनि इन्धनको मूल्य दोब्बर भएपछि काम गर्न कठिन भएको बताउनुभयो। “तेलको मूल्य बढेपछि निर्माण लागत बढेको छ, जसले काममा समस्या भइरहेको छ,” उहाँले भन्नुभयो।
राजमार्ग विस्तारअन्तर्गत धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको ७४.७५ किलोमिटर सडक खण्डमा तीन वटा निर्माण कम्पनीले ठेक्का पाएका छन्।
कमला–बडहरी २२.०७ किलोमिटर सडक खण्डको जिम्मेवारी इकेके इन्फ्रास्ट्रक्चर लिमिटेड इन्डियाले पाएको छ। बडहरी–फूलजोर २९.७४ किलोमिटर र फूलजोर–बडहरी २२.९४ किलोमिटर सडक खण्डको निर्माण कार्य चिनियाँ कम्पनी एसडब्लु इजे र रसुवा कन्स्ट्रक्सन कम्पनी (आरसिसी) को संयुक्त लगानीमा भइरहेको छ। यी ठेक्काको कुल लागत करिब एक हजार २८० करोड रुपैयाँ रहेको छ।
विश्व बैंकको १८ अर्ब ६० करोड रुपैयाँ सहयोगमा सञ्चालन भइरहेको आयोजना सन् २०२७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
हाल दुई लेनमा रहेको महेन्द्र राजमार्गलाई बजार तथा व्यापारिक क्षेत्रमा दुवैतर्फ साढे छ/साढे छ मिटरको सर्भिस लेनसहित छ लेन र अन्य क्षेत्रमा चार लेनमा विस्तार गर्ने योजना रहेको छ। तर निर्माणको सुस्त गतिले निर्धारित समयमै आयोजना पूरा हुनेमा चुनौती थपिएको छ।




