नयाँ दिल्ली । भारतको ४ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार (आज) भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन् ।
उनीहरूले नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्तरूपमा दुई देशको झण्डा देखाएर रलवे र कार्गो रेल उद्घाटन गरेका हुन् ।



विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउनेछ ।
भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षण भएको थियो । उद्घाटन गर्ने भएपछि बुधबार पनि परीक्षण गरिएको थियो ।
यसैगरी बाँकेमा भारत सरकारको सहयोगमा निर्माण भएको व्यापार पूर्वाधारको पनि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटनको घोषणासंगै भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्खाबन्दरगाह प्रवेश गरेका थिए ।




