जनकपुरधाम- नेपाल मुस्लिम संघ धनुषाका अध्यक्ष इब्राहिम राईन कार्यक्रम स्थलबाट लखेटिएका छन् ।
सोमबार धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ स्थित महेन्द्रनगरमा गोप्य रुपमा आयोजना गरिएको संघको क्षेत्रिय अधिवेशन स्थलबाट अध्यक्ष राईन लखेटिएका हुन् ।
अध्यक्ष राईनले लुकिछिपी नेपाल मुस्लिम संघको क्षेत्रिय अधिवेशन गर्न लागेको जानकारी पाएपछि जनकपुरधामबाट पुगेका कांग्रेसका मुस्लिम कार्यकर्ताहरुले राईनलाई लखेटेका छन् ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन नगरि नेकपा एमालेका उम्मेदवारका लागि प्रचारप्रसार गरेको भन्दै राईनलाई नेपाली कांग्रेस क्षेत्रिय कमिटीले गत मंसिर १९ गते कारवाही गरेको थियो । उनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ को कांग्रेस वडा कमिटीबाटसमेत कारवाही गरिएको थियो ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल मुस्लिम संघको जिल्ला अध्यक्ष एवम् कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका राईनले गत प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका दौरान विभिन्न ठाउँमा गई मुस्लिम मतदाताहरुलाई एमालेमा मतदान गर्न लगाएको भन्दै उनलाई पार्टीले कारवाही गरि निष्काशन गरेको थियो ।
तर, पार्टीबाट निष्काशित व्यक्तिले सोमबार कसैलाई जानकारी नै नदिई आफ्नो आसेपासेका केही व्यक्तिहरुको सहयोगमा संघको क्षेत्रिय अधिवेशन गर्न लागेको जानकारी पाएपछि कांग्रेसका मुस्लिम कार्यकर्ताहरुले नै उनलाई लखेटेका हुन् ।
नेपाली कांग्रेस मधेस प्रदेशका प्रमुख सचेतकसमेत रहेका धनुषा क्षेत्र नम्बर–४ का क्षेत्रिय सभापति कुमरकान्त झाले इब्राहिमले गत निर्वाचनमा कांग्रेससँग अन्तरघात गरेकोले उनलाई पार्टीबाट निष्काशित गरिसकिएको जानकारी दिए ।
उनले पार्टीबाट निष्काशित भइसकेका व्यक्तिले पार्टीको भातृ संगठनको अधिवेशन कसैलाई जानकारी नै नदिई गराउनु दुःखद र अक्षम्य रहेको बताए ।
अध्यक्ष राईनले गोप्य रुपमा अधिवेशन गर्न लागेको जानकारी पाएपछि पार्टी सम्बद्ध मुस्लिम युवाहरुले कार्यक्रम विथोलेको नेपाली कांग्रेस क्षेत्र नम्बर–४ (१) का सहसचिव अताउल हकले जानकारी दिए ।
कांग्रेससँग अन्तरघात गरेका व्यक्तिले फेरि कांग्रेसकै कार्यक्रम गोप्य रुपमा गर्नु दुःखद रहेको र यसमा पार्टीको माथिल्लो तहका नेताहरु सोच्नुपर्ने आवश्यकता रहेको उनले बताए ।