जनकपुरधाम- नागरिकता विधेयक प्रमाणीकरणबारे सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश आएपछि बिरोधमा मंगलबार पनि जनकपुरधाममा बिरोध पूदर्शन भएको छ ।
अदालतको यो आदेशले मधेशी जनतामाथि पुनः अर्को गम्भीर प्रहार भएको भन्दै जनकपुरधाममा बिरोध प्रदर्शन भएको हो ।



अदालतको आदेश बिरुद्ध विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरुले जनकपुरधामको जनक चोकमा बिरोध प्रदर्शन गरेका हुन् । यी विद्यार्थी संगठनहरुले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका हुन् ।
यता जनमत पार्टी निकट जनमत विद्यार्थी मञ्चले अलग्गै बिरोध प्रदर्शन गरेका हुन् । मञ्चले सर्वोच्चको आदेश बिरुद्ध प्रदर्शन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देन र रास्वपाका अध्यक्ष रवि लामिछानेको पुतला दहन समेत गरेका हुन् ।

यस अघि मंगलबार सर्वोच्चको आदेशको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उच्च अदालत तथा जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको थियो । सर्वोच्च अदालतले नागरिकता वितरण रोक्न आदेश दिएर लाखौँ मधेशीको भविष्यसँग खेलवाड गरेको भन्दै लोसपा मदेश प्रदेशका अध्यक्ष जीतेन्द्र सोनलको नेतृत्वमा विरोध प्रर्दशन गरिएको छ ।
प्रदर्शनमा सहभागीहरूले नागरिकता ऐन लागू गर, संसदको सर्वोच्चता कायम गर, मधेशीलाई अनागरिक बनाउन मिल्दैन, नागरिकतामा राजनीति बन्द गर, राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकको आधारमा नागरिकता वितरण गरजस्ता नारा लगाएका थिए ।राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । आइतबारबाट जिल्ला प्रशासन कार्यालयहरूले प्रमाणीकरण भएको विधेयकको आधारमा नागरिकता वितरण गर्ने सूचना समेत जारी गरेको थियो ।
तर, आइतबार नै सर्वोच्च अदालतले राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको विधेयकलाई तत्काल कार्यान्वयन नगर्न आदेश दियो । उक्त आदेशपछि नागरिकता वितरण रोकिएको छ ।सर्वोच्चको निर्णयविरुद्ध सोमवार जनकपुरधाममा नागरिकताविहिनहरुले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन् । आइतबार साँझ जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको थियो भने सोमबार विहानैदेखि जिल्ला प्रशासन घेराउ गरेका थिए ।




